• २०८३ असोज ७ गते बुधवार

टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा चौथो दिन चार खेल सम्पन्न, एरिस्टो, सत्यवती बी, डीसीए र चैतन्य विजयी

लोकराज जोशी पढ्न लाग्ने समय : ४ मिनेट

असोज ७, धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ अन्तर्गत चौथो दिन चार खेल सम्पन्न भएका छन्। चौथो दिन भएका खेलमा एरिस्टो स्कुल, सत्यवती एकेडेमी बी, डीसीए क्रिकेट क्लब र चैतन्य पाठशाला विजयी भएका छन्। चौथो दिनको पहिलो खेलमा एरिस्टो स्कुलले सत्यवती एकेडेमी एलाई ८७ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको एरिस्टो स्कुलले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १३४ रनको बलियो योगफल बनाएको थियो।

एरिस्टोका लागि जीवन थलालले १२ बलमा ३२ रन बनाए। उनले १ चौका र ४ छक्का प्रहार गरे। प्रकाश माझीले १५ बलमा २८ रन बनाउँदा ४ चौका र १ छक्का प्रहार गरे। नवीन न्यौपानेले अविजित २७ रन तथा कप्तान महेन्द्र बिष्टले ३ बलमा अविजित १३ रन बनाए। सत्यवती एकेडेमी ए का कप्तान शुभम कडालले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

१३५ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमी ए १० ओभरमा ९ विकेट गुमाउँदै ४६ रनमै समेटियो। कप्तान शुभम कडालले ११ बलमा १६ रन तथा रमित कार्कीले ८ बलमा १० रन बनाए। एरिस्टोका किरनबहादुर देउवाले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ४ रन खर्चेर ४ विकेट लिए। भुपेश जोशीले २ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका एरिस्टोका किरनबहादुर देउवा प्लेयर अफ दी म्याच घोषित भए। चौथो दिनको दोस्रो खेलमा सत्यवती एकेडेमी बीले फ्रेन्डस युथ क्लब डडेल्धुरालाई ३२ रनले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको सत्यवती बीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनायो। सुजन गौतमले अविजित ४२ रन बनाए। उनले २१ बलमा २ चौका र ४ छक्का प्रहार गरे। अर्जुन बिकले १३ बलमा ३४ रन बनाउँदा १ चौका र ४ छक्का प्रहार गरे। गौतम केसीले अविजित २६ रन तथा सन्तोष कार्कीले १० रन जोडे। फ्रेन्डस युथ क्लब डडेल्धुराका शन्नी बिकले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।

१२४ रनको लक्ष्य पछ्याएको फ्रेन्डस युथ क्लबले १० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाउन सक्यो। रुपेशकुमार सिंहले ९ बलमा २२ रन, कप्तान भिम सार्कीले ८ बलमा १३ रन, शन्नी बिकले ३ बलमा १२ रन तथा दीपकप्रसाद डुम्रे र इम्रान शेखले समान १२ रन बनाए। सत्यवती बीका कप्तान दिपेश कँडेलले ३ विकेट लिए भने अर्जुन बिक, गौतम केसी र आदिल अन्सारीले समान २–२ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका अर्जुन बिक प्लेयर अफ दी म्याच घोषित भए। चौथो दिनको तेस्रो खेलमा डीसीए क्रिकेट क्लबले घटाल लायन्स श्रीनगर युथ क्लबलाई २१ रनले हरायो। पहिले ब्याटिङ गरेको डीसीएले १० ओभरमा ५ विकेट गुमाउँदै १०० रन बनाएको थियो। नरेन भट्टले २१ बलमा ४० रन बनाउँदै ५ चौका र २ छक्का प्रहार गरे। दिनेश अधिकारीले १९ तथा दीपक बोहराले १७ रन बनाए।

घटाल लायन्सका मनसुन सिंहले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए। १०१ रनको लक्ष्य पछ्याएको घटाल लायन्स श्रीनगर युथ क्लबले १० ओभरमा ७ विकेट गुमाउँदै ७९ रनमै सीमित भयो। सुमित महर्जनले २८ बलमा ४८ रन बनाए। उनले ५ चौका र ३ छक्का प्रहार गरे। निरज पार्कीले १० रन बनाए। डीसीएका भोजराज भट्ट र दिनेश अधिकारीले समान २–२ विकेट लिए। बलिङसँगै ब्याटिङमा समेत योगदान गरेका दिनेश अधिकारी प्लेयर अफ दी म्याच घोषित भए।

चौथो दिनको चौथो तथा अन्तिम खेलमा चैतन्य पाठशालाले कैलाली जिल्ला क्रिकेट संघ प्रशिक्षण केन्द्रलाई १० विकेटले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको कैलाली जिल्ला क्रिकेट संघ प्रशिक्षण केन्द्रले १० ओभरमा ८ विकेट गुमाउँदै ६३ रन बनायो। जीवन केसीले २७ बलमा ३१ रन बनाए भने कप्तान आयुश ढुङ्गानाले ४ बलमा १० रन जोडे। चैतन्य पाठशालाका विरेन्द्र वमले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए। ६४ रनको सामान्य लक्ष्य चैतन्य पाठशालाले केवल ५.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। कप्तान वसन्तसिंह कार्कीले १३ बलमा अविजित ३४ रन बनाउँदा १ चौका र ४ छक्का प्रहार गरे। दिपक बोहराले अविजित २९ रन बनाए। उत्कृष्ट बलिङ प्रदर्शन गरेका चैतन्य पाठशालाका विरेन्द्र वम प्लेयर अफ दी म्याच घोषित भए।

यससँगै टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा चौथो दिनका चार खेल सम्पन्न भएका छन्। प्रतियोगितामा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा क्लब र एकेडेमीका टोलीहरूको सहभागिता रहेको छ। फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगिताका आगामी खेलहरूले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस