• २०८३ भाद्र ७ गते आइतवार

सुहाना भन्छिन्- ‘बा: एक योद्धा’ बाबा-आमाका अगाडि खुल्न नसक्ने सन्तानको कथा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ६, काठमाडौँ ।  नायिका सुहाना थापाले चलचित्र ‘बा: एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन् । भदौ १९ गतेबाट रिलिज हुने चलचित्र ‘बा : एक योद्धा’ हेर्न आग्रह गर्दै यसमा केही फरकपन रहेको बताएकी छन् । यो चलचित्र र यसमा रहेको पात्र आफ्ना लागि भिन्न रहेको भन्दै उनले सन्तानका लागि बाबा–आमाले गरेको त्याग सिनेमामा रहेको बताएकी छन् ।

“हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको सेक्रिफाइज (सम्झौता याद हुन्छ । तर, हामी त्यसलाई बाबा–आमाआमाका अगाडि खुलेर भन्न सक्दैनौँ,” सुहाना भन्छिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सेक्रिफाइज गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ ।”

चलचित्रमा केही रमाइलो र कनेक्ट गर्ने कुरा रहेको भन्दै सबैलाई चलचित्र मनपर्ने सुहानाको विश्वास छ । दर्शकलाई आफ्नै कथाजस्तो लाग्ने र बाँधेर राख्ने भएकाले ‘बा: एक योद्धा’ हेर्न उनको आग्रह छ । भदौ १९ गते रिलिज हुने ‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

यो चलचित्रमा सुहानाका अलावा दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् । शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा ः एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस