असार ९, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्मले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । यस लगानीपछि क्रेडको मूल्यांकन ४ अर्ब ५० करोड डलर पुगेको क्रेडले जानकारी दिएको छ । यसैसँगै क्रेडका संस्थापक कुनाल शाहलाई विश्वव्यापी रूपमा व्हाट्सएपको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो, जहाँ ५० करोडभन्दा बढी प्रयोगकर्ता छन् । कम्पनीले भारतमा सन्देश सेवाबाट अघि बढ्दै भुक्तानी र व्यवसायिक सेवामा समेत विस्तार गरिरहेको छ ।
हालका व्हाट्सएप प्रमुख विल क्याथकार्टले सात वर्षको नेतृत्वपछि मेटाभित्रै अर्को जिम्मेवारी सम्हाल्ने भएका छन् । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले जानकारी दिदै अब क्रेडका संस्थापक शाहले हवाट्स एपको नेतृत्व सम्हाल्ने बताएका हुन् ।
यो लगानी पछिल्ला वर्षहरूमा भारतको वित्तीय प्रविधि क्षेत्रमा भएको सबैभन्दा ठूलो लगानीमध्ये एक मानिएको छ । पछिल्लो चरणको लगानीपछि क्रेडको मूल्यांकन २०२५ को फन्डिङभन्दा बढी भए पनि सन् २०२२ को ६ अर्ब ४० करोड डलरको उच्च बिन्दुभन्दा कम रहेको बताइएको छ ।
यस सम्झौताअन्तर्गत मेटाले क्रेडमा अल्पसंख्यक हिस्सा लिनेछ, तर ग्राहकको व्यक्तिगत डेटा पहुँच पाउने छैन । २०१८ मा स्थापना भएको क्रेडले उच्च क्रेडिट स्कोर भएका प्रयोगकर्ताका लागि सदस्यतामा आधारित सेवा सञ्चालन गर्दै आएको छ । यसमार्फत भुक्तानी, ऋण, बीमा, सम्पत्ति व्यवस्थापन र जीवनशैली सेवासम्म उपलब्ध गराइन्छ । कम्पनीका अनुसार यसले प्रत्येक महिना १ करोड ७० लाख सदस्यलाई सेवा दिइरहेको छ । साथै भारतको क्रेडिट कार्ड बिल भुक्तानीको ४० प्रतिशतभन्दा बढी हिस्सा यसैमार्फत हुन्छ र साझेदार वित्तीय संस्थाका लागि करिब २५ अर्ब डलर बराबरको ऋण सम्पत्ति व्यवस्थापन भइरहेको छ ।
नयाँ पूँजीले कम्पनीलाई वृद्धि तीव्र पार्न, नेतृत्व सुदृढ बनाउन तथा उत्पादन विस्तार गर्न प्रयोग गरिने बताइएको छ । हाल क्रेडमा रणनीति तथा वित्त प्रमुख मितेन सम्पतलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
मेटाले भारतमा यसअघि पनि रिलायन्स इन्डस्ट्रिजको डिजिटल इकाइ जियो प्लेटफर्ममा ठूलो लगानी गरेको थियो, जसले हालै प्राथमिक सेयर निष्कासनका लागि कागजात बुझाएको छ ।