• २०८३ असार ९ गते मङ्गलवार

कतार विष्फोटमा भारत र पाकिस्तानका १३ जनाको मृत्यु, नेपाली पनि घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ९, काठमाडौं ।   कतारको बर्जान तरलीकृत प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोट र आगलागीमा १३ कामदारको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् । कतारका ऊर्जा मामिला राज्यमन्त्री साद बिन शेरिदा अल काबीले घटनाबारे जानकारी दिदै १३ जनाको मृत्यु भएको बताएको कतार न्यूज एजेन्सीले जानकारी उल्लेख गरेको छ ।

आइतबार राति भएको विस्फोट र आगलागी कुनै तोडफोड वा नियोजित आक्रमण नभई दुर्घटनावश भएको मन्त्री काबीले जानकारी दिएका छन् । साथै घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले विस्तृत अनुसन्धान सुरु गरेको पनि उनले जानकारी दिए ।

मृत्यु हुनेहरू १२ जना भारतीय र एक जना पाकिस्तानका नागरिक रहेका छन् । घाइतेमध्ये नेपाल, कतार, भारत, पाकिस्तान, बङ्गलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक रहेको जानकारी दिइएको छ । घटनामा कति नेपाली घाइते छन् भन्ने बारे जानकारी दिइएको छैन तर कुनै पनि घाइतेको अवस्था गम्भीर नरहेको मन्त्री काबीले स्पष्ट पारेका छन् ।

उनका अनुसार राति करिब १०: ३० बजे केन्द्रभित्र विस्फोट भएको थियो । कतारको आन्तरिक प्राकृतिक ग्यासको माग पूरा गर्न प्रयोग हुने यो केन्द्र आवश्यक मर्मत तथा सुधारका लागि सन् २०२५ को डिसेम्बरदेखि बन्द रहेको र दुई दिनअघि मात्रै पुनः सञ्चालनमा आएको थियो ।

मन्त्री अल काबीले मृतकका परिवार र सहकर्मीप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, प्रभावित सबैलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कतार ऊर्जा निगमअन्तर्गतका अन्य तरलीकृत प्राकृतिक ग्यास केन्द्र, रास लाफान बन्दरगाह तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै ढुवानी र आपूर्ति प्रणालीमा कुनै असर नपरेको बताए । ग्यास उत्पादन र निर्यात कार्य नियमित रूपमा सञ्चालन भइरहेको पनि उनले स्पष्ट पारे । यस घटनाका कारण वातावरणीय जोखिम वा खतरनाक पदार्थ चुहावटको सम्भावना नरहेको बताउदै उनले सम्बन्धित निकायले सुरुदेखि नै अवस्था निगरानी गरिरहेको र चिन्ताजनक कुनै वातावरणीय खतरा नदेखिएको उनले जानकारी दिएका छन् ।

केन्द्र बन्द हुँदा आन्तरिक बजारमा पर्ने असरबारे उनले यो केन्द्र पेट्रोरसायन, मल उद्योगलगायतका स्थानीय औद्योगिक क्षेत्रका लागि महत्वपूर्ण ग्यास आपूर्तिको स्रोत भए पनि कतारसँग पर्याप्त वैकल्पिक योजना र सञ्चित क्षमता रहेकाले आपूर्तिमा कुनै अवरोध नआउने बताए । उनले अन्तर्राष्ट्रिय ग्राहकहरूसँग भएका सम्झौता र ग्यास निर्यातमा कुनै असर नपरेको दोहोर्‍याए ।

केन्द्र पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने प्रश्नमा उनले अहिले नै समयसीमा तोक्न नसकिने बताए। प्राविधिक अनुसन्धानको नतिजा र क्षतिको विस्तृत मूल्याङ्कनपछि मात्र त्यसबारे निर्णय हुने उनले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस