• २०८३ कार्तिक २५ गते मङ्गलवार

‘साम्बा’को उपचारमा समन्वय र जिम्मेवारीबारे एन्फाको प्रष्टिकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ११, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार र पुनःस्थापनाबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) ले औपचारिक धारणा सार्वजनिक गर्दै समन्वय र जिम्मेवारीका विषयमा प्रष्ट पारेको छ।

एन्फाले जारी गरेको वक्तव्यमा साम्बा नेपाली फुटबलकी महत्वपूर्ण खेलाडी भएको उल्लेख गर्दै उनको स्वास्थ्यप्रति संघ गम्भीर रहेको जनाएको छ। खेलकै क्रममा घुँडामा चोट लागेपछि उपचार प्रक्रिया अघि बढिरहेको र व्यावसायिक फुटबलको अन्तर्राष्ट्रिय अभ्यासअनुसार घाइते खेलाडीको उपचार सम्बन्धित क्लबको जिम्मेवारी हुने स्पष्ट पारिएको छ।

हाल साम्बा अष्ट्रेलियाको ए–लिगअन्तर्गत व्यावसायिक क्लब Wellington Phoenix FCबाट खेल्दै आएकी छन्। एन्फाका अनुसार उनको प्रारम्भिक उपचार न्यूजिल्यान्डमै क्लबमार्फत अघि बढाइएको छ।

यद्यपि, साम्बाले कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि एन्फाले त्यसका लागि कूटनीतिक र खेलकुदीय दुवै तहमा पहल सुरु गरेको जनाएको छ। कतार फुटबल संघसँग औपचारिक तथा अनौपचारिक समन्वय भइरहेको र अध्यक्षस्तरबाट समेत पहल अघि बढाइएको जानकारी दिइएको छ। साथै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक सहजीकरणका लागि पत्राचार गरिएको एन्फाले जनाएको छ।

एन्फाले विगतमा राष्ट्रिय महिला टोलीका खेलाडीहरू पिंकी राई, गीता राना, हिरा भुजेल, पूजा राना, रेनुका नगरकोटी, समीक्षा मगरलगायतको उपचार खर्च संघले व्यहोरेको स्मरण गराउँदै महिला फुटबलप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

हाल सामाजिक सञ्जालमा उठिरहेका प्रश्नहरूको पृष्ठभूमिमा एन्फाले कप्तान साम्बाको उपचारमा कुनै कमी हुन नदिने र उनलाई शीघ्र मैदानमा फर्काउने लक्ष्यसहित आवश्यक सबै पहल भइरहेको स्पष्ट पारेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस