• २०८३ भाद्र ६ गते शनिवार

लुभुमा ‘अन टेस्ट’ विद्युतीय हाइस दुर्घटना हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौँ ।  ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ विद्युतीय हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको हाइस घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ ।

दुर्घटनामा हाइस चालक महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय अखिल राजथला गम्भीर घाइते भएका छन्। उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन पनि गम्भीर घाइते भएका छन्। उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा मध्यम घाइते भएकी छन् । उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जन भने सामान्य घाइते भएका छन् । उनको पनि किस्ट अस्पतालमा उपचार भइरहेको छ । हाइसमा चार जना मात्रै सवार रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस