भदौ ६, अर्घाखाँची । अर्घाखाँचीमा बँदेल, रातो मृग र चित्तलको सिकार गर्न इच्छुक नेपाली नागरिकका लागि जिल्ला सिकार अनुज्ञापत्र (लाइसेन्स) लिन आवेदन खुला गरिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन्यजन्तुबाट हुने तथा भइरहेको कृषिबाली र मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम सिकार अनुज्ञापत्र प्रदान गर्न आवेदन आह्वान गरेको हो।

कार्यालयका अनुसार नियमावलीले तोकेको प्रक्रिया तथा तोकिएको हातहतियार प्रयोग गरी बँदेल, रातो मृग र चित्तलको सिकार गर्न इच्छुक नेपाली नागरिकले २०८३ साल भदौ १० गतेभित्र डिभिजन वन कार्यालय, अर्घाखाँचीमा आवेदन पेश गर्नुपर्नेछ।
आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हातहतियारको प्रमाणपत्र तथा प्रचलित कानुनबमोजिम आवश्यक अन्य कागजात पेश गर्नुपर्ने कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयले तोकिएको ढाँचामा आवश्यक कागजातसहित आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको हो।
वन्यजन्तुबाट हुने कृषिबाली तथा मानवीय क्षति न्यूनीकरणका लागि कानुनले निर्धारण गरेको प्रक्रिया र सीमाभित्र रही सिकार अनुज्ञापत्र प्रदान गरिने कार्यालयले जनाएको छ।
