• २०८३ कार्तिक २६ गते बुधवार

तीस लाखको मूल्यमा अड्किएको जीवन : सबिनाको पीडा, समाजको परीक्षा

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

कहिलेकाहीँ जीवनले यस्ता प्रश्नहरू उठाउँछ, जसको उत्तर न त कुनै अदालतसँग हुन्छ, न कुनै सरकारसँग, न त समाजसँग नै । त्यस्ता प्रश्नहरू केवल आँसुमा बग्छन् हावामा तरङिन्छन । ती प्रश्नहरूमा एउटी आमाको विवशता हुन्छ, दुई साना सन्तानको भविष्यको चिन्ता हुन्छ, अनि मानिसको नैतिकताको कठोर परीक्षा लुकेको हुन्छ । यस्तै एउटा मार्मिक कथा हो– २६ वर्षीया सबिना ठाडाको ।

छ वर्षदेखि बोन म्यारो क्यान्सरसँग संघर्ष गरिरहेकी सबिनाको शरीर मात्र होइन, उनको जीवन पनि बिस्तारै धुर्मुराइरहेको छ । आँखा लर्बर्‍याइरहेको छ । एउटा पीडा त बोन म्यारो क्यान्सरको छ, जसले हरेक दिन उनको शरीरलाई कमजोर बनाइरहेको छ भने अर्को पीडा श्रीमानले कठिन समयमा सम्बन्धविच्छेद मागेपछि सिर्जिएको छ । तेस्रो पीडा उपचारका लागि आवश्यक करिब तीस लाख रुपैयाँ जुटाउने असम्भव जस्तै चुनौतीको हो उनको लागि । यी तीनवटै पीडाको चक्रव्यूहमा परेकी सबिनाको जीवन आज साँच्चिकै धुर्मुराइरहेको छ ।

हाम्रो नेपाली समाजमा कहिले पुरुष स्वार्थी देखिन्छन्, त कहिले नारी । सबै पुरुष खराब हुँदैनन्, सबै महिला पनि असल मात्र हुँदैनन् । तर जीवनको सबैभन्दा कठिन घडीमा एकअर्काको साथ छोड्ने प्रवृत्ति भने न पुरुषको शोभा हो, न नारीको । विवाह केवल सुखका दिन सँगै बिताउने सम्झौता मात्र होइन, दुःखका दिनमा पनि हात नछोड्ने वाचा हो । तर सबिनाको जीवनमा त्यो वाचा अधुरो बन्यो । रोगले थलिएकी श्रीमतीलाई सहारा दिनुपर्ने बेला श्रीमानले सम्बन्धविच्छेद माग्नु केवल कानुनी विषय होइन, यो मानवीय संवेदनाको पनि गम्भीर प्रश्न हो ।

सबिनाको आँखामा आफ्ना लागि बाँच्ने इच्छा भन्दा पनि सात वर्षीया छोरी र पाँच वर्षका छोराको भविष्यको चिन्ता बढी देखिन्थ्यो । जव कि एउटी आमाले आफ्ना सन्तानको भविष्यका लागि मृत्युको मुखसँग संघर्ष गरिरहेकी छिन् । के त्यो सन्तानको पीडाबोधको भारी पुरुषले लिनु नपर्ने ? आर्थिक अभावका कारण उपचार सम्भव नभएपछि अस्पतालबाटै फर्कनुपरेको उनको अवस्था हाम्रो स्वास्थ्य प्रणालीमाथिको एउटा कठोर प्रश्न पनि हो ।
संयोगवश अस्पतालबाट फर्किने क्रममा वर्षाबाट बच्न ओत लागेर बसेकी सबिनाको भेट सामाजिक अभियन्ता अभिनव बज्रसँग भएको हुन्छ । उनले तत्काल पाँच हजार रुपैयाँ सहयोग गरे, सुरक्षित घर पुग्न ट्याक्सीको व्यवस्था पनि मिलाए र थप सहयोग अभियान चलाउने प्रतिबद्धता जनाए । यस्तो मानवीय व्यवहारले अझै पनि समाजमा मानवता मरेको छैन भन्ने आशा जगाउँछ एकातिर भने अर्कोतिर हाम्रो समाजमा यस्ता कुराहरु चौतारी गफको मसला पनि बन्छन । तर एउटा व्यक्तिको सहयोगले मात्र यस्ता हजारौं सबिनाहरूको जीवन बच्न सक्दैन ।

आज प्रश्न उठ्छ– हाम्रो समाज किन यति स्वार्थी बन्दै गएको छ त ? किन आफन्त, साथीभाइ र छिमेकीहरू अरूको दुःख देखेर पनि मौन बस्न थालेका छन् ? नैतिकता भनेको केवल धार्मिक प्रवचन सुन्नु वा सामाजिक सञ्जालमा राम्रो कुरा लेख्नु मात्र होइन । नैतिकता भनेको पीडामा परेकाको हात समात्नु पनि हो । कर्तव्य भनेको आफ्ना मानिसलाई सुखमा मात्र होइन, दुःखमा पनि साथ दिनु हो । यदि परिवार, समाज र राज्यले आ- आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गर्ने हो भने धेरै सबिनाहरू अकालमै मृत्युको मुखमा पुग्नुपर्ने थिएन ।

यस्ता घटनाले आज राज्यप्रति पनि गम्भीर प्रश्न उठेको छ । संविधानले नागरिकलाई स्वास्थ्यको अधिकार दिएको छ भने बोन म्यारो क्यान्सरजस्तो जटिल रोगको उपचार गराउन आर्थिक अभावकै कारण नागरिक अस्पतालबाट फर्किनुपर्ने अवस्था किन आउँछ ? किन स्वास्थ्य सेवा अझै पनि धनीका लागि सहज र गरिबका लागि सपना बनेको छ ? यदि सरकारले यस्ता जटिल रोगको उपचार निःशुल्क वा पूर्ण रूपमा सहुलियतमा उपलब्ध गराउन सकेको भए सबिनाजस्ता हजारौं बिरामीले जीवनको आशा गुमाउनुपर्ने थिएन । स्वास्थ्य सेवा दया होइन, नागरिकको मौलिक अधिकार हो ।

सबिनाको कथा केवल एउटी महिलाको व्यक्तिगत पीडा होइन । यो हाम्रो समाजको संवेदनशीलताको परीक्षा पनि हो । यो राज्यको उत्तर दायित्वमाथिको प्रश्न हो । र यो हामी सबैको मानवताको ऐना हो । आज सबिनालाई तीस लाख रुपैयाँभन्दा बढी आवश्यक छ । उहाँलाई आवश्यक छ साथ, विश्वास, मानवता र बाँच्ने आशा पनि । यदि हामीले यस्ता पीडितहरूलाई समयमै साथ दिन सकेनौं भने भोलि इतिहासले रोगले होइन, हाम्रो संवेदन हीनताले मानिसहरू मरेका थिए भनेर लेख्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस