वैशाख ८, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले पहिलोपटक होर्मुज जलडमरूमध्य खुला राख्न अपिल गरेका छन् । अमेरिका र इरानबीच बढ्दो तनावका बीच यस्तो धारणा सार्वजनिक हुनु चीनको अर्थतन्त्रमा परेको दबाबको संकेतका रूपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जिनपिङले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसँग टेलिफोन संवाद गर्दै उक्त समुद्री मार्ग सामान्य आवागमनका लागि खुला रहनुपर्ने बताएका हुन् ।
चीनले आफ्ना करिब ४० प्रतिशत तेल यही मार्गबाट आयात गर्दै आएको छ । हाल चीनसँग केही महिनाका लागि ऊर्जा भण्डार भए पनि विश्व अर्थतन्त्र लामो समयसम्म सुस्त रहेमा त्यसको असर पर्न सक्ने आँकलन गरिएको छ ।
अन्तर्राष्ट्रिय व्यापारमा निर्भर चीनको अर्थतन्त्र पहिले नै दबाबमा रहेको छ । यसबीच क्षेत्रका केही देशहरूले चीनलाई थप सक्रिय भूमिका खेल्न आग्रह गरिरहेका छन्, तर चीनले सन्तुलित नीति अपनाइरहेको देखिन्छ ।
चीनले इरान र खाडी मुलुकहरूसँगको सम्बन्ध कायम राख्दै अमेरिका सँगको तनाव नबढाउने रणनीति लिएको छ । आगामी महिनामा चीन र अमेरिकाका राष्ट्रपतिबीच भेटवार्ता हुन सक्ने चर्चा पनि चलेको छ, जसलाई ध्यानमा राख्दै चीनले सावधानीपूर्वक कदम चालिरहेको विश्लेषण गरिएको छ ।