वैशाख ८, काठमाडौं । इरानमा फेब्रुअरी २८ देखि सुरु भएको युद्धका कारण एशिया–प्रशान्त क्षेत्रका धेरै देश आर्थिक दबाबमा परेका छन् । तेल र ग्यास आपूर्ति अवरुद्ध भएपछि उद्योगधन्दा प्रभावित भएका छन् भने विज्ञहरूले यसलाई ‘सुनामीजस्तै आर्थिक संकट’ को संज्ञा दिएका छन् ।

सुरुमा असर बिस्तारै देखिने अनुमान गरिए पनि वास्तविकतामा धेरै देशको अर्थतन्त्र र जनजीवनमा एक्कासि ठूलो प्रभाव परेको छ । विज्ञहरूका अनुसार यो अवस्था महामारीजस्तै गम्भीर संकटतर्फ उन्मुख हुन सक्ने संकेत देखिएको छ ।
आगामी महिनाहरूमा उडान रद्द हुने, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने, कारखाना बन्द हुने, आपूर्ति ढिलो हुने र बजारमा अभाव देखिने सम्भावना बढेको छ । प्लास्टिक, तयारी खानाका सामग्री, औषधि, सुई, सौन्दर्य सामग्री, सूक्ष्म उपकरण र खेलकुद सामग्रीसमेत प्रभावित हुन सक्ने जनाइएको छ ।
विज्ञहरूका अनुसार मध्यपूर्वमार्गको व्यापार केही हप्ता थप अवरुद्ध भए धेरै देशमा आर्थिक अवस्था बिग्रन सक्ने, अशान्ति फैलन सक्ने र मन्दी आउन सक्ने जोखिम छ । धेरै कम्पनी संकटमा छन् भने सरकारहरू महँगी नियन्त्रणका लागि ऋण लिन बाध्य भइरहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार वर्षअन्त्यसम्म एशियामा लाखौँ मानिस गरिबीमा धकेलिन सक्ने अनुमान छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्व अर्थतन्त्र सुस्त बन्दै गएको छ, किनभने विश्वको करिब २० प्रतिशत तेल आपूर्ति बजारबाट बाहिरिएको छ । यसले एशियाभर आपूर्ति प्रणाली प्रभावित भएको छ ।
एशिया–प्रशान्त क्षेत्र बढी प्रभावित हुनुको कारण यहाँ मध्यपूर्वको ऊर्जा आपूर्तिमा उच्च निर्भरता, परस्पर जोडिएको अर्थतन्त्र र पहिल्यै उच्च माग तथा कम आपूर्ति रहेको अवस्था हो ।
यातायात क्षेत्रमा सबैभन्दा ठूलो असर परेको छ । युद्ध सुरु भएसँगै ट्रक, जहाज र विमान सेवा प्रभावित भएका छन् । मार्च महिनामा विश्वभर ९२ हजारभन्दा बढी उडान रद्द भएका छन्, जसको सबैभन्दा ठूलो प्रभाव यही क्षेत्रमा परेको छ ।
इन्धन महँगिएपछि धेरै विमान कम्पनीहरूले सेवा कटौती गरेका छन् । हवाई यातायात एक तिहाइसम्म घटेको बताइएको छ । यसले पर्यटन, होटल र सेवा क्षेत्र पनि प्रभावित बनेका छन् ।
उद्योग क्षेत्रमा कच्चा पदार्थको अभाव देखिन थालेको छ । विभिन्न देशमा उत्पादन घट्दै गएको छ भने सूक्ष्म उपकरण उद्योगसमेत प्रभावित भएको छ । यसले ‘डोमिनो प्रभाव’ सिर्जना गर्दै एक समस्याले अर्को समस्या निम्त्याइरहेको जनाइएको छ ।
यसको प्रत्यक्ष असर सर्वसाधारणमा परेको छ । रोजगारी घट्दै गएको, खर्च बढेको, औषधि तथा खोपको आपूर्ति प्रभावित भएको र केही स्थानमा शिक्षा क्षेत्रसमेत प्रभावित भएको उल्लेख गरिएको छ ।
विशेषज्ञहरूका अनुसार यो संकट निकै तीव्र गतिमा फैलिएको छ र नियन्त्रण गर्न कठिन हुने देखिएको छ । युद्ध अन्त्य भए पनि महँगी र अभावको असर लामो समयसम्म रहन सक्ने चेतावनी दिइएको छ ।