भदौ ४,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चमती, नयाँ बजारलगायत जग्गा विकास आयोजना क्षेत्रका उपभोक्ताका समस्या समाधानका लागि संयुक्त अध्ययन समिति गठन गर्ने भएको छ । महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकले नदी र सडकको फरक–फरक मापदण्डका कारण स्थानीयलाई परेको समस्याबारे अध्ययन गरी भदौभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले कानुनी समाधान खोजिने बताइन् ।
बैठकले महानगरको आन्तरिक स्रोतबाट नियुक्त भएका तथा हुने विद्यालयका ४८१ शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय पनि गरेको छ । यस्तै, महानगरले निर्माण गरेका पार्क तथा खेलमैदान सञ्चालनसम्बन्धी कार्यविधि र भवन अभिलेखनसँग सम्बन्धित विषयमा अध्ययन तथा मस्यौदा तयार गरी आगामी बैठकमा पेस गर्ने जानकारी दिइएको छ ।
