असार ६, काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी दरबारविरूद्ध प्रेस काउन्सिलमा उजुरी परेकाे छ । कमेडी दरबारको पछिल्लो एपिसोडले सभामुख र सांसदहरूको मानहानी भएको भन्दै उजुरी गरिएकाे हाे ।

कार्यक्रमकाे नवाैं एपिसाेडकाे ट्रेलर प्रशारण लगत्तै सत्तारूढ दल रास्वपाले आपत्ति जनाएकाे थियाे । रास्वपाकी सांसद समीक्षा बास्काेटाले कार्यक्रमकी निर्देशक श्रद्धा र निर्णायक मनाेज गजुरेललाई फाेन गरेर ट्रेलरमा प्रयाेग गरिएकाे संसदकाे लाेगाे र महिला सांसदहरूप्रति लक्षित केही संवाद हटाउन आग्रह गरेकी थिइन् ।
नेपाल प्रेससित गजुरेलले भने, `समिक्षाजीले मलाई फाेन गरेर केही विषयहरूमा चासाे राख्नुभएकाे थियाे । मैले निर्माण टीममा छलफल हुने बताएकाे थिएँ ।´
श्रद्धाले पनि आफूलाई बास्काेटाले फाेन गरेर संसदकाे लाेगाे लगायतका विषयमा असहमति राखेकाे बताइन् । लाेगाे हटाउन निर्माण टीम तयार भए पनि संवाद र दृष्य हटाउन नसकिने अडान निर्माण पक्षले लिएकाे थियाे । साे पश्चात रास्वपानिकट अधिवक्ता खगेन्द्र चापागाईंकाे नामामा काउन्सीलमा उजुरी परेकाे हाे ।
उजुरी आएपछि काउन्सीलले प्राइम टेलिभिजनलाई साेधपुछ गर्याे । प्राइमका तर्फबाट कार्यक्रमको ट्रेलर टेलिभिजनमा प्रशारण नहुने जवाफ आएपछि काउन्सिलले ओएसआर डिजिटललाई निर्देशन दिएर केही दृष्य र थुप्रै संवादमा विप हाल्न लगाएको छ ।
ओएसआरले आफूहरूसित सल्लाह नगरी ट्रेलर र पुरा एपिसोड काँटछाँट गरेको भन्दै निर्माण टीम र कलाकारहरू असन्तुष्ट बनेका छन् ।
कार्यक्रमका निर्माता विक्की अग्रवालले चित्त दुखाउँदै फेसबुकमा स्टाटस लेखेका छन् । उनी लेख्छन्, ‘हामीले हरेक हप्ता लेखाइ, अभ्यास र कलाकारहरूको मेहनतबाट तयार गरेको सामग्रीमा कसैले सजिलै कैंची चलाउँदा निकै चित्त दुख्दो रहेछ। अब के नेपालमा चलचित्रजस्तै टेलिभिजन कार्यक्रम पनि रुवाउने मात्रै बनाउँदा पो ठीक हुने हो कि ?’
कार्क्रममा सभामुख डिपी अर्यालको मिमिक्री गरेका सरोज भण्डारी, प्रचण्ड बनेका विकास अर्याललगायतले पनि स्टाटस लेखेर असन्तुष्टि पोखेका छन् । सामान्य व्यंग्य र मिमिक्रीलाई पनि पचाउन नसकेको उनीहरूको गुनासो छ ।
कमेडी दरबारको नयाँ एपिसोडमा रास्वपाका राजु पाण्डे सहित तीन सांसद गेस्ट बनेर पुगेका थिए । कार्यक्रममा रास्वपा सांसदहरूमाथि नै बढी व्यंग्य गरिएको थियो । पाण्डेसहितका तीन जना सांसदहरू कार्यक्रमभरि मजा मानेर बसे । पाण्डेले पछि पनि कुनै असन्तुष्टि जनाएका छैनन् ।
काउन्सिलको दवावपछि कार्यक्रममा प्रयोग भएको संसदको लोगो ब्लर गरिएको छ । सभामुख डीपी अर्यालको मिमिक्रीबाट केही संवाद काटिएका छन् । ‘सभामुख’ले ‘सजिना’ को नाम लिएर मुस्कान छोडेको दृष्य ट्रेलरमै हिट भएको थियो, तर त्यसबाट सजिनाको नाम हटाइएको छ । रास्वपाका सांसदलाई ‘च्वाँक´ भनिएको संवाद सम्पादन गरिएको छ ।