जेठ ६, काठमाडौं । बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीको पहिलो वेब शो ‘प्रीतम एन्ड पेड्रो’ आगामी जुलाई ३ देखि जियोहटस्टारमा प्रदर्शन हुने भएको छ। यो कथामा एउटा परित्यक्त एटीएम, समुद्र किनारमा देखिने दुई अनौठा व्यक्ति र रहस्यमय घटनाक्रमलाई आधार बनाइएको छ, जसले सुरुमै दर्शकको चासो बढाउने बताइएको छ। हिरानीले आफ्नो परिचित शैलीमा मानवीय भावना, हास्य र संवेदनशील कथावाचनलाई लामो स्वरूपको श्रृंखलामा प्रस्तुत गरेका छन् ।

यो वेब शोको निर्देशन प्रख्यात निर्देशक अविनाश अरुणले गरेका हुन् । कथाको मुख्य विवरण भने अझै गोप्य राखिएको छ। जियोस्टारका हिन्दी र अंग्रेजी मनोरञ्जन प्रमुख अलोक जैनले यस्ता कथाहरूले दर्शकलाई न्यानोपन, हास्य र भावनासँग जोड्ने बताएका छन् । उनका अनुसार राजकुमार हिरानीजस्ता कथावाचकसँगको सहकार्य विशेष भएको र यसले नयाँ अनुभव दिनेछ ।
निर्देशक हिरानीले पनि विभिन्न स्वभावका पात्रहरू एकै कथामा भेटिएर आउने अनपेक्षित परिस्थितिबाट आफू सधैं आकर्षित हुने बताएका छन्। उनका अनुसार लामो स्वरूपले पात्रहरूको यात्रा गहिराइमा देखाउने अवसर दिएको छ।