कात्तिक २, काठमाडौं । यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी र यहि असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यसवर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए ।

देश शोकमा रहेका बेला चाडपर्वका नाममा तडकभडक नगरी अरूलाई असर नपर्ने गरी उत्सव मनाउनुपर्ने उनको भनाइ छ । दशैँ तिहार र छठको शुभकामना दिँदै उनले विपत्तिका कारण प्रभावित परिवार र समुदायको संवेदनशीलतालाई ध्यानमा राख्न सबैलाई अनुरोध गरेका हुन् । शेर्पाका अनुसार पछिल्लो समय चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएको छ । पहिले सानो हुँदा दशैँ–तिहार नयाँ लुगा लगाउने र परिवारसँग रमाइलो गर्ने विशेष अवसरका रूपमा लिइन्थ्यो । त्यो बेलामा नयाँ लुगा लगाउँदाको उत्साह र चाडपर्वको प्रतीक्षा बेग्लै हुने गरेको उनी सम्झन्छन् । तर अहिले नियमित रूपमा नयाँ लुगा लगाउने अवसर बढेकाले पहिलेको तुलनामा चाडपर्वप्रतिको उत्साह केही घटेको उनको बुझाइ छ ।
त्यसैगरी, क्रिसमस र अन्तर्राष्ट्रिय नयाँ वर्षलगायतका पर्व मनाउने चलन बढ्दै जाँदा नेपाली चाडपर्वको सामाजिक परिवेश पनि बदलिएको उनले बताए । यस्ता परिवर्तनका बीच आफ्ना संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
पर्यटन व्यवसायीका लागि भने दसैँ–तिहारको समय व्यस्त हुने गरेको शेर्पाले बताए । यही समयमा पर्यटकको आगमन बढी हुने भएकाले व्यवसायीले चाडपर्व मनाउनुका साथै पर्यटकलाई सेवा दिनुपर्ने दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्छ । कर्मचारीलाई बिदा दिनुपर्ने र उनीहरूको अनुपस्थितिमा पनि पर्यटकलाई नियमित सेवा उपलब्ध गराउनुपर्ने भएकाले पर्यटन व्यवसायीले परिवारसँग समय बिताउनसमेत कठिन हुने उनले बताए ।
उनका अनुसार पर्यटन व्यवसायीले चाडपर्वका अवसरमा आयोजना हुने सबै कार्यक्रममा सहभागी हुन नसके पनि नेपाली संस्कृति र परम्पराको प्रचारप्रसारमा योगदान दिन सक्छन् । पर्यटन क्षेक्रमा आबद्ध व्यत्तिहरूले नेपालका चाडपर्व, संस्कृति र परम्पराबारे अध्ययन तथा अनुसन्धान गरी त्यसको सकारात्मक सन्देश पर्यटकमाझ पुर्याउनुपर्ने उनले बताए ।
शेर्पाले पर्यटनलाई रोजगारी र राजस्व सिर्जनासँग जोड्दै नयाँ सम्भावनाको खोजी पनि निरन्तर गर्नुपर्ने बताए । उनका अनुसार पर्यटनसँग सम्बन्धित उद्योग तथा व्यवसाय विस्तारले देशमा रोजगारीका अवसर बढाउनुका साथै राजस्व वृद्धिमा सहयोग पुर्याउन सक्छ ।
उनले चाडपर्वलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली संस्कृति बुझ्ने, त्यसको सम्मान गर्ने र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको पहिचान प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।