भदौ ३, हेटौँडा । बागमती प्रदेशको नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आवश्यक समर्थन जुटाउँदै थापामगरले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् ।
थापामगरले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी पेस गरेका छन् । समर्थनमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद रहेका छन् । १०४ सदस्यीय प्रदेशसभामा ६३ सांसदको समर्थनसहित दाबी पेस गरिएको छ ।
दाबी पेस गर्ने निवेदनमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न विहिबार ४ बजेसम्मको समय दिएका थिए ।
