साउन ३,रौतहट । अपराध नियन्त्रण, तस्करी रोकथाम र फरार प्रतिवादी पक्राउ अभियानमा जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय सफलता हासिल गरेको छ। एक वर्षको अवधिमा प्रहरीले बिभिन्न मुद्दामा फैसला कार्यान्वयन गर्न ६९४ जनालाई पक्राउ, ४४८ फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउनुका साथै ५ करोड ९२ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको तथ्य सार्वजनिक गरेको हो।

आइतबार जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै एसपी सीताराम रिजाल ले वर्षभरि १ हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिएका छन्। तीमध्ये ६८० मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ मुद्दा अनुसन्धानकै क्रममा छन्। यस्तै, दर्ता भएका ४ हजार ८५० ठाडा उजुरीमध्ये ४ हजार ३८० फर्छ्योट भइसकेका छन् भने ४७० उजुरी प्रक्रियामा रहेका छन्।
लागुऔषधविरुद्धको अभियानमा प्रहरीले ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरेको छ। यस अवधिमा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, ४ हजार २६५ नशालु एम्पुल तथा १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको एसपी रिजालले जानकारी दिएका छन्।
अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत पक्राउ परेका ४४८ फरार प्रतिवादीबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ६९ लाख ७१ हजार ८७४ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ।
अवैध हातहतियार नियन्त्रण अभियानमा ६ थान हतियार र १९ राउण्ड गोली बरामद गरिएको छ भने ३ जना पक्राउ परेका छन्। यस्तै, नक्कली मुद्रासम्बन्धी ३ वटा मुद्दामा ७ जनाविरुद्ध कारबाही अघि बढाइएको छ। सो क्रममा १ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि १ हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु तथा १ हजार ६९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ सवारी साधनलाई कारबाही गर्दा १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
भन्सार छली नियन्त्रण अभियानमा प्रहरीले १८ जनालाई पक्राउ गरी १५५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। यस क्रममा ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताए। उनका अनुसार यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी हो।
यसैगरी, स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। वन संरक्षण अभियानअन्तर्गत २२२ क्युबिक फिट सालको काठ बरामद गरी ५ लाख ९५ हजार २२५ रुपैयाँ राजस्व संकलन गरिएको छ भने २ जना पक्राउ परेका छन्।
नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण अभियानमा ३० वटा सवारी साधन र ३ जनालाई नियन्त्रणमा लिई २ लाख ५७ हजार ३०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
घरेलु मदिरा उत्पादनविरुद्ध सञ्चालन गरिएको अभियानमा ५ वटा अवैध मदिरा भट्टी नष्ट, १ हजार ५४५ लिटर मदिरा, २ हजार लिटर कच्चा पदार्थ, एक सवारी साधन तथा मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, एक वर्षको अवधिमा १ लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी रिजालले सीमित जनशक्तिका बाबजुद नागरिकलाई प्रभावकारी सेवा दिन प्रहरी सफल भएको बताए। अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, राजस्व छली नियन्त्रण तथा सामुदायिक प्रहरी सेवामा प्राप्त उपलब्धि स्थानीयवासी, सञ्चारकर्मी र सरोकारवाला निकायको सहयोगकै परिणाम भएको उनले उल्लेख गरेका छन्।