• २०८३ जेष्ठ ५ गते मङ्गलवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १५ मिनेट

जेठ ५, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । प्रधानन्यायाधीशमा नियुक्त शर्माले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । शित्तल निवासमा आयोजित कार्यक्रममा शर्मालाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो । शर्मालाई गत बैशाख २४ गते बसेको संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

२- कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’ नामक ह्वाट्सएप समूह तथा फेसबुक मेसेन्जरलगायत विभिन्न समूह बनाएर उत्तरसहित प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ परेको ब्यूरोले जनाएको छ । प्रहरीले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट गोरखाको भीमसेन थापा गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी पक्राउ परेका छन् । उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

३- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । सोमबार साँझ वीरगन्जबाट पक्राउ परेका प्रसाईविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ । सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका पर्साईले वीरगन्जमा आज कार्यक्रम गर्ने तालिका रहेको थियो ।

४- सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमबासीका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित भएका सुकुम्बासीको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्चबापत २५ हजार एकमुष्ट रकम दिने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइने निर्णय भएको उनले बताए । त्यस्तै वृद्ध, असहाय र अपाङ्गलगायत आफ्नो व्यवस्थापन गर्न नसक्ने परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने र बालबालिका, विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा स्थानीय तहसँगको समन्वयमा व्यवस्था गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए । त्यसैगरी बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ६. ११६ मिलियन स्वीस फ्र्यांक अनुदान तथा अरनिको राजमार्गको मर्मत सुधार गर्न चिनियाँ सरकारले प्रदान गर्ने ७९. ३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

५- पोर्चुगलले फिफा विश्वकप फुटबलका लागि आफ्नो २७ सदस्यीय टिमको घोषणा गरेको छ । प्रशिक्षक रोबेर्ट मार्टीनेजले पोर्चुगलका हाल विभिन्न लिगमा खेलिरहेका खेलाडी समेटेर विश्वकप खेल्ने टिम घोषणा गरेका हुन् । जसमा क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने पनि निश्चित भएको छ । रोनाल्डोले यसअघि २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए । पोर्चुगलको टिम: गोलकिपर: डियोगो कोस्टा, जोसे सा, रुई सिल्भा र रिकार्डो भेल्हो । डिफेन्डर: डियोगो डालोट, माथेउस नुनेस, नेल्सन सेमेडो, जाओ क्यान्सेलो, नुनो मेन्डेस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डायस र टोमास अराउजो । मिडफिल्डर: रुबेन नेभेस, सामुएल कोस्टा, जाओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र बेर्नार्डो सिल्भा । फरवार्ड: जाओ फेलिक्स, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइसाओ, पेड्रो नेटो, राफाएल लियाओ, गोन्सालो गुएडेस, गोन्सालो रामोस र क्रिस्टियानो रोनाल्डो । विश्कपमा पोर्चुगल समुह के मा रहेको छ । यस समुहमा पोर्चुगलसहित डिआर कंगो, उज्बेकिस्तान र कोलोम्बिया रहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुन २३ मा उज्बेकिस्तानसँग र तेस्रो खेल जुन २७ मा कोलोम्बियासँग खेल्ने भएको छ ।

६- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जना सर्टलिस्ट गरिएको छ । समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको हो। समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको जनाएको छ । सिफारिस समितिले चारै जनासँग आगामी शुक्रबार छलफल गर्ने जनाएको छ ।

७- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा आफ्ना कुरा जस्ताको तस्तै राख्न अर्को चुनावसम्म पर्खिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकतामा आफ्ना कुरा जस्ताको तस्तै खोजेको भन्दै त्यसका लागि अर्को चुनावसम्म पर्खिन आग्रह गरेका हुन् । मन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरेका विषयलाई नै सरकारले बजेटका रुपमा ल्याउने र सरकारको प्रथामिकता पनि सोहि विषयमा रहेको स्पष्ट गरेका छन् । यसअघिका आयोजनालाई निरन्तरता दिने बताउदै जनमत अनुसार आफुहरुले त्यस्तो गर्न बाध्यकारी नभएको भएपनि आफुहरुले सरकारले राज्यको अविछिन्नतालाई सम्मान गर्दै निरन्तरता दिएको बताए । मन्त्री वाग्लेले कार्यान्यवनलाई केन्द्रमा राखेर आफुहरुले सिद्धान्त र प्राथमिकता तय गरेको बताउदै आफुहरुले मिशन मोडको अवधारणामा काम गरिरहेको बताए ।

८- कङ्गो लोकतान्त्रिक गणराज्यमा फैलिएको इबोला सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १३१ नाघेको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म १३१ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । कंगोका जान स्वास्थ्यमन्त्रीले पनि १३१ को मृत्यु भएको र ५१३ जना संक्रमित भएको बताएका छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले बुन्डिबुग्यो विषाणुबाट फैलिएको हालको इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ । युगान्डामा पनि दुई जनामा सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको बताइएको छ । कङ्गोमा सङ्क्रमितमध्ये एक अमेरिकी चिकित्सकसमेत रहेका छन् । उनलाई उपचारका लागि जर्मनी लैजाने तयारी गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले रोग अझ ठूलो रूपमा फैलिन सक्ने चेतावनी दिँदै सीमाक्षेत्रमा कडा निगरानी गर्न आग्रह गरेको छ । रुवान्डाले सीमा जाँच कडा बनाएको छ भने नाइजेरियाले अवस्थामाथि निगरानी बढाएको जनाएको छ । अफ्रिका रोग नियन्त्रण केन्द्रले हालसम्म प्रभावकारी औषधि वा स्वीकृत खोप उपलब्ध नभएकाले जनस्वास्थ्यका नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ । विशेषगरी सङ्क्रमितको अन्त्येष्टिका क्रममा सावधानी अपनाउन चेतावनी दिइएको छ । कंगो र युगान्डामा २० भन्दा बढी इबोला प्रकोपहरू भइसकेका छन्, तर बुन्डिबुग्यो भाइरस पत्ता लागेको यो तेस्रो पटक हो । बुनिया, गोमा, मोङब्वालु, बुटेम्बो र न्याकुन्डेमा केसहरू रिपोर्ट गरिएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आज जेनेभामा आफ्नो गहिरो चिन्ता व्यक्त गरे । उनले महामारीको मात्रा र गतिको बारेमा चिन्तित रहेको बताए ।

९- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३७ थान नेपाली राहदानीसहित एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । विमानस्थलमा खटिएको सुरक्षाकर्मी टोलीले मंगलबार सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थायी ठेगाना भएका ३८ वर्षीय अजित श्रेष्ठ पक्राउ गरको जानकारी दिएको छ । उनी नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट भारतको नयाँ दिल्ली जान लागेका थिए । जाँचका क्रममा श्रेष्ठको साथबाट कुनै पनि आधिकारिक अनुमति वा कागजातबिना ३७ थान नेपाली राहदानी फेला परेको सुरक्षा कार्यालयले जनाएको छ । ती राहदानीमा रोमानियाको भिसा लगाउने उद्देश्यले लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद गरिएका राहदानीसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

१०- नेप्सेमा आज पनि गिरावट भएको छ । आज मंगलबार नेप्से ६.५१ अंकले घटेर २७२४. ३९ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका ७८ लाख १६ हजार ४७८ कित्ता शेयर ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स र निर्जीव वीमाबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १४.२६ प्रतिशतले बढेको छ भने नेपाल रिपब्लिक मिडियाको शेयर ६.४१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटी होटलको शेयर ६.८४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटी होटलको २३ करोड ५३ लाखको कारोबार भएको छ भने साहस उर्जाको ९ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

११- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले वरिष्ठताको आधार बलियो मापदण्ड नहुने बताएका छन् । संसदीय सुनवाइका क्रममा शर्माले प्रधानन्यायाधीशमा बढुवा नभएर नियुक्ति भएकाले यो विषय विवादको विषय नभएको बताएका छन् । साथै समितिका सदस्य सांसदहरुले सोधेको ‘नेपोबेबी’ को प्रश्नको जवाफ दिदै कसैको नाता भएकै आधारमा कुनै पदमा नियुक्ति दिन नमिल्ने भन्ने नहुने बताउदै उनले आफुले योग्यता पुरा गरेर नै न्यायाधिश बनेको दाबी गरे । शर्मालाई समितिका सदस्य सांसदहरुले एनसेलको कर छुट दिने आदेश दिएको, शैक्षिक योग्यतामा उठेको प्रश्न, न्यायाधीश नियुक्ति हुदा योग्यता नपुगेको आरोप लगायतका विषयमा प्रश्न गरेका थिए ।

१२- कानुन व्यवसायीहरुले न्यायको खोजी भन्दै लालटिन बालेर प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले मंगरबार दिउँसो बारको कार्यालय परिसरमा लालटिन बालेर विरोध गरेका छन् । सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्धको रिट दर्ता नगरेको विरोधमा नेपाल बारले आज लाल्टिन बालेर विरोध गरेको हो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएपनि सर्वोच्च प्रशासनले सो आदेशको अवज्ञा गरेपछि बारले असन्तुष्टि व्यक्त गर्दै विरोधमा उत्रिएको छ ।

१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्रथामिकता आफुले स्वीकार नगर्ने बताएका छन् । प्रतिनिधि सभामा मंगलबार छलफलमा भाग लिदै बजेटका सिद्धान्त र प्रथामिकतामा मधेशलाई उपेक्षा गरिएको भन्दै त्यसलाई आफुले स्वीकार नगर्ने बताएका हुन् । सांसद सिंहले बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित रहेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले आफ्नो २० बर्षे संसदको कार्यकालमा अर्थमन्त्री नहुदा छलफल चलिरहेको पहिलो पटक देखेको भन्दै नयाँको नाममा सबै कुरा भत्काउन नहुने बताएका थिए । उनले परिवर्तन गर्ने नाममा सबै परम्परा र थिति परिवर्तन नहुने भन्दै अर्थमन्त्रीको उपस्थिति बिना बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफल हुन नसक्ने जिकिर गरे । साथै उनले सरकारले बजेटका सिद्धान्त र प्रथामिकतामा मधेशलाई उपेक्षा गरेको आरोप लगाउदै मधेश विस्फोटको अवस्थामा रहेको बताए ।

१४- इरानका राष्ट्रपति मसुद पेजेशकियानले वार्ता गर्ने भन्दैमा इरान झुक्ने वा आत्मसमर्पण गर्ने अवस्था नरहेको बताएका छन् । उनले इरानले आफ्नो सार्वभौमसत्ता र कानुनी अधिकार जोगाउँदै मात्रै वार्ता अघि बढाउने स्पष्ट पारेका छन् । पेजेशकियानले इस्लामिक गणतन्त्र इरानले सम्मान, शक्ति र राष्ट्रिय अधिकारको रक्षा गर्दै कूटनीतिक संवादमा सहभागी हुने बताए । उनले कुनै पनि परिस्थितिमा इरानी जनता र देशको कानुनी अधिकारबाट पछि नहट्ने अडान दोहोर्‍याए । उनले इरान तर्क र पूर्ण शक्तिका साथ अन्तिमसम्म जनताको सेवा गर्नेछौँ र इरानको हित तथा सम्मानको रक्षा गर्ने बताएका छन् । इरानले आफ्नो युरेनियम संवर्द्धन कार्यक्रममाथि कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले युरेनियम संवर्द्धन इरानको अधिकार भएको भन्दै अन्य देशको दबाबले कुनै असर नपर्ने बताएका छन् । उनका अनुसार इरान आफ्नो आणविक कार्यक्रममा कुनै दबाबमा आउने छैन । यसैबीच इरानले अमेरिकालाई पुनः सैन्य कारबाही नगर्न चेतावनी दिएको छ । इरानी सञ्चारमाध्यमका अनुसार संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रवक्ता इब्राहिम रेजाईले यदि इरानविरुद्ध फेरि आक्रमण भए त्यसको अझ शक्तिशाली जवाफ दिइने बताएका छन् । रेजाईले यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप अपमानको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । उनले अमेरिकासामु दुई विकल्प मात्रै रहेको उल्लेख गर्दै या त कूटनीति र इरानका सर्त स्वीकार गर्नुपर्ने, नभए इरानी क्षेप्यास्त्रको शक्ति सामना गर्नुपर्ने बताएका छन् ।

१५- ब्राजिलले फिफा विश्वकप फुटबल खेल्ने २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले नेइमारलाई समेट्दै ब्राजिलको विश्वकप खेल्ने टिम सार्बजनिक गरेका हुन् । टोलीमा सबैभन्दा ठूलो आकर्षणका रूपमा अनुभवी फरवार्ड नेइमार परेका छन् । चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका उनी पुनः फर्किएका छन् । ३४ वर्षका नेइमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १२८ खेलमा ७९ गोल गरेका छन् । उनी यसअघि सन् २०१४, २०१८ र २०२२ विश्वकपमा पनि खेलेका थिए, र यो उनको चौथो विश्वकप हुनेछ । प्रशिक्षक एन्चेलोटीले टोली घोषणा गर्दै नेइमारको फिटनेस र पछिल्लो प्रदर्शनलाई ध्यानमा राखेर छनोट गरिएको बताएका छन् । ब्राजिलको २६ सदस्यीय टोली यस प्रकार छ । गोलरक्षक: अलिसन बेकर, एडरसन र वेभर्टन । रक्षक: एलेक्स सान्द्रो, डानिलो, लिओ पेरेइरा, ब्रेमर, इबानेस, वेस्ली, मारक्विन्योस, गाब्रिएल र डग्लास सान्तोस । मिडफिल्डर: ब्रुनो गिमारेइस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो र लुकास पाकेटा । फरवार्ड: एन्ड्रिक, गाब्रिएल मार्टिनेली, इगोर थियागो, माटेउस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेइमार र रायन । टोलीमा प्रिमियर लिग, ला लिगा र युरोपका विभिन्न क्लबमा खेलिरहेका प्रमुख खेलाडीहरू समावेश छन् । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस विश्वकपमा ब्राजिलले आफ्नो पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेलेर शुरु गर्दैछ । ब्राजिल समुह सी मा मोरक्को, हैटी र स्कटल्यान्डसँग रहेको छ ।

१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ५०८५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४० मा कारोबार भएको थियो ।

१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबामाथि कडा कदम उठाउँदै ११ जना सरकारी अधिकारी र तीन सरकारी संस्थामाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा सरकारले आफ्ना नागरिकमाथि दमन गरिरहेको, राष्ट्रिय सुरक्षामा खतरा बढाइरहेको र विदेशी गुप्तचर तथा सैन्य गतिविधिलाई सहयोग गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा जोगाउन यो कदम चालेको हो । प्रतिबन्धको उद्देश्य क्युबाको कम्युनिस्ट सरकार र सेनालाई अवैध आर्थिक स्रोतबाट टाढा राख्नु रहेको उनले बताए । यो प्रतिबन्ध १ मे २०२६ मा राष्ट्रपति ट्रम्पद्वारा हस्ताक्षर गरिएको कार्यकारी आदेश अन्तर्गत लागू गरिएको हो । आदेशमा क्युबामा दमनका लागि जिम्मेवार तथा अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेश नीतिका लागि खतरा बनेका व्यक्ति र संस्थालाई लक्षित गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्ध सूचीमा परेका ११ जना अधिकारीमध्ये धेरैजसो क्युबा सरकार र सेनासँग सम्बन्धित उच्च पदस्थ व्यक्ति छन् । उनीहरूलाई नागरिकमाथि दमन र राज्य संरचनामा दुरुपयोग गरेको आरोप लगाइएको छ । सूचीमा एडी म्यानुएल सिएरा एरियास, ओस्कार अलेजान्द्रो कालेहास भालकार्स, रोसाबेल गामोन भर्दे, जोआकिन क्विन्टास सोला, जुआन एस्टेबान लाजो हर्नान्डेज, भिसेन्टे दे ला ओ लेवी, मायरा अरेभिच मारिन, होसे मिगेल गोमेज डेल भालिन, राउल भिलार केसेल, रोबर्टो टोमास मोरालेस ओजेडा र युजेनियो आर्मान्डो राबिलेयो अगुइलेरा रहेका छन् । मार्को रुबियोले यी व्यक्तिहरू क्युबाको आर्थिक संकट, जनताका समस्या र विदेशी सैन्य तथा गुप्तचर गतिविधिमा संलग्न रहेको आरोप पनि लगाएका छन् । उनले आगामी दिनमा थप प्रतिबन्ध आउन सक्ने संकेत समेत दिएका छन् । अमेरिकी विदेश मन्त्रालयले प्रतिबन्ध लागेका व्यक्ति र संस्थाको अमेरिकामा रहेका सम्पत्ति तथा आर्थिक हित रोक्का गरिएको जनाएको छ । साथै अमेरिकी नागरिक र कम्पनीलाई उनीहरूसँग कुनै पनि प्रकारको आर्थिक कारोबार गर्न रोक लगाइएको छ, जबसम्म विशेष अनुमति प्राप्त हुँदैन । ट्रम्प प्रशासनको यो कदम क्युबाप्रति अमेरिकाको कडा नीतिलाई थप बलियो बनाउने संकेतका रूपमा हेरिएको छ । अमेरिकाले क्युबामा मानव अधिकार, कानुनी शासन, खुला बजार र लोकतान्त्रिक अभ्यास प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ ।

१८- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि पर्चा देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्छ र प्रश्न देखि भाग्न पाइदैन भन्ने लेखिएको पर्चा देखाएर सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले यसअघि सोमबार पनि यस्तै पर्चा देखाएर विरोध गरेपछि सभामुखले संसदमा पर्चा देखाएर विरोध गर्न नपाइने भन्दै सचेत गराएका थिए ।

१९- विश्वकै चर्चित प्रविधि उद्यमी एलन मस्कलाई अमेरिकी संघीय अदालतबाट ठूलो झट्का लागेको छ । क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतले मस्कले कृत्रिम बौद्धिकता कम्पनी ओपन एआई र उसका शीर्ष अधिकारीविरुद्ध दायर गरेको बहुचर्चित मुद्दा पूर्ण रूपमा खारेज गरिदिएको हो । मस्कले अदालतमा च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईले मानवहितका लागि काम गर्ने आफ्नो मूल उद्देश्यलाई धोका दिएको आरोप लगाएका थिए । उनका अनुसार कम्पनी अहिले पूर्ण रूपमा नाफामुखी संस्थामा परिणत भएको छ । तीन सातासम्म चलेको लामो सुनुवाइपछि नौ सदस्यीय जूरीले ऐतिहासिक फैसला सुनाएको थियो । जूरीले दुई घण्टाभन्दा कम छलफलपछि मस्कले मुद्दा दायर गर्न कानुनी समयसीमा नाघिसकेको निष्कर्ष निकालेको थियो । त्यसपछि न्यायाधीश इभोन गोन्जालेज रोजर्सले जूरीको निष्कर्षलाई अन्तिम अदालतको फैसला मानेर मस्कका सबै दाबी खारेज गरिन् । यद्यपि, मस्क पक्षका वकिल स्टेभन मोलोले कानुनी लडाइँ अझै समाप्त नभएको बताएका छन् । उनले यो हारलाई अमेरिकी इतिहासका पुराना युद्धसँग तुलना गर्दै अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने स्पष्ट पारे । मस्क र ओपनएआईबीचको विवाद कम्पनी स्थापनाकालदेखि नै जोडिएको छ । सन् २०१५ मा मस्कले ओपनएआईको सह–स्थापना गरेका थिए । उनले प्रारम्भिक चरणमा करिब ३ करोड ८० लाख अमेरिकी डलर लगानीसमेत गरेका थिए । मस्कको आरोपअनुसार ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र उनका सहकर्मी ग्रेग ब्रोकम्यानले कम्पनीलाई पछाडिबाट नाफामुखी संरचनामा रूपान्तरण गरेका हुन् । मस्कले ओपनएआई सधैं गैरनाफामूलक संस्थाका रूपमा सञ्चालन हुनुपर्ने अडान राख्दै आएका छन् । अदालतमा सुनुवाइका क्रममा ग्रेग ब्रोकम्यानले ओपनएआईमा आफ्नो हिस्सेदारी करिब ३० अर्ब डलर बराबर रहेको खुलासा गरेका थिए । उता, स्याम अल्टम्यान र ओपनएआईले भने कम्पनीलाई सधैं गैरनाफामूलक बनाइराख्ने कुनै औपचारिक प्रतिबद्धता कहिल्यै नभएको दाबी गरेका छन् । ओपनएआईका वकिलहरूले अदालतमा मस्कको मुद्दा व्यावसायिक प्रतिस्पर्धाबाट प्रेरित भएको तर्क गरेका थिए । कम्पनीका अनुसार मस्कले तीव्र रूपमा विस्तार भइरहेको ओपनएआईमाथि एकल नियन्त्रण खोजेका थिए । त्यो सम्भव नभएपछि उनले मुद्दा दायर गरेको आरोप लगाइएको छ । ओपनएआईका वकिल विलियम साभिटले मस्कको वास्तविक उद्देश्य कम्पनीको तीव्र विकास रोक्नु रहेको बताए । उनका अनुसार मस्कले सन् २०२३ मा स्थापना गरेको आफ्नै कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईलाई फाइदा पुग्ने उद्देश्यले यो कानुनी लडाइँ अघि बढाएका हुन् । सुनुवाइका क्रममा स्याम अल्टम्यानले प्रारम्भिक दिनमा आफूले मस्कलाई अत्यन्त सम्मान गर्ने गरेको बताएका थिए । तर, उनले मस्कले आफ्ना प्रतिबद्धता पूरा नगरेको र कठिन अवस्थामा कम्पनीलाई एक्लै छाडेको आरोप लगाए । अल्टम्यानले ‘आर्टिफिसियल जनरल इन्टेलिजेन्स’ अर्थात् मानिसभन्दा शक्तिशाली कृत्रिम बौद्धिकता कुनै एक व्यक्तिको नियन्त्रणमा हुनु नहुने धारणा पनि व्यक्त गरे । ओपनएआईमा ठूलो लगानीकर्ता रहेका माइक्रोसफ्टले समेत अदालतको निर्णयको स्वागत गर्दै ओपनएआईसँगको सहकार्य निरन्तर रहने जनाएको छ ।

२०- सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ५ विकेटले पराजित गरेको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछाएको सनराइजर्सले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । सनराइजर्सको जितमा इशान किशनले ७० रन बनाएका थिए भने हेइनरिच क्लासेनले ४७ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले डेवाल्ड ब्रेभिसको ४४, कार्तिक शर्माको ३२, संजु सामसनको २७ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउदै १८० रन बनाएको थियो । सनराइजर्सको यो जितले प्लेअफमा तीन टिमको टुंगो लागेको छ । जसमा रोयल च्यालेन्जर्स बैंगलुरु यसअघि नै प्लेअफमा पुगेको थियो भने गुजरात टाइटन्स र सनराइजर्स प्लेअफमा पुगेका हुन् । यो हारले चेन्नईको प्लेअफको यात्रा मुश्किल देखिएको छ । चेन्नईको १३ खेलमा १२ अंक रहेको छ र अब अन्तिम खेल विहिबार गुजरात टाइटन्ससँग खेल्ने तालिका छ । जारी आइपिएलमा आज भने राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस