• २०८३ जेष्ठ ५ गते मङ्गलवार

वीरगन्जबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि पर्सा अदालतबाट ३ दिनको म्याद थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, वीरगन्ज । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टचार विरुद्ध र राज्यप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाद प्रसाईं वीरगन्जबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई जेठ ४ गते राति वीरगन्जको सिद्धार्थ दियालो होटलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ५६ वर्षीय प्रसाईंको स्थायी घर झापाको विर्तामोड नगरपालिका वडा नं. ५ भई हाल उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ मा बस्दै आएका छन् ।

प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जालहरूमा विभिन्न अभिव्यक्ति दिने क्रममा विभिन्न जातजाती र सम्प्रदाय बीचको सुमधुर सम्बन्धमा खलल पार्ने, कसैप्रति घृणा वा द्वेष फैलाउने र नेपाल सरकार वा सरकारको काम कारबाहीका विरुद्ध निराधार तथा अप्रमाणित कुराहरू देखाई घृणा र अवहेलना जगाउने उद्देश्यले अमर्यादित एवं अस्वस्थ्य आलोचनात्मक अभिव्यक्तिहरू दिँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार प्रसाईंउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र राज्य विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस