जेठ ५, पोखरा । पोखरा महानगरका अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडिको पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा रहेका व्यवसायिक सटर हटाइएको छ । टिनका टहरा बनाएर सञ्चालन हुँदै आएका व्यवसायहरू पोखरा महानगरपालिकाको समन्वय र अमरसिंह माध्यमिक विद्यालयसँगको सहकार्यमा हटाइएको हो ।

महानगरपालिकाले जेठ ४ गतेसम्म सामान सुरक्षित रूपमा स्थानान्तरण गर्न समय दिएको थियो । सो समयसीमा सकिएपछि मंगलबार महानगरले जेसीभी प्रयोग गरी बाँकी संरचना हटाएको हो ।
त्यहाँ सञ्चालनमा रहेका ५१ वटा व्यवसायिक सटरहरू व्यवसायीहरूले नै महानगर र विद्यालयको अनुरोधमा खाली गर्न सहमति जनाएका थिए । मुख्य प्रवेश मार्गको रूपमा रहेको अमरसिंह क्षेत्रलाई शहरको सौन्दर्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । तर टिनका टहराका कारण उक्त क्षेत्र अव्यवस्थित देखिँदै आएको थियो ।
टहरा हटाइएसँगै पोखराको शहरी सौन्दर्य सुधार अभियानलाई सहयोग पुगेको भन्दै नगर प्रमुख धनराज आचार्यले व्यवसायीहरूलाई धन्यवाद दिएका छन् । उनले लामो समयदेखि त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूको पुनर्स्थापनाका विषयमा विद्यालयसँग आवश्यक छलफल र समन्वय गरिने पनि बताएका छन् ।