कात्तिक १, काठमाडौं । भारतको बिहारस्थित मुजफ्फरपुरमा एक युवकको हत्या भएपछि आक्रोशित स्थानीयवासीले आधा दर्जनभन्दा बढी घरमा आगजनी गरेका छन्। मुजफ्फरपुरको करजा थाना क्षेत्रअन्तर्गत एक युवकको हत्या भएपछि आइतबार बिहानदेखि सो क्षेत्रमा तनाव उत्पन्न भएको हो। पोस्टमार्टमपश्चात् मृतकको शव गाउँ ल्याउनासाथ आक्रोशित भीडले घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको घरलाई निशाना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनापछि त्यस क्षेत्रमा तनाव बढेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी तथा प्रशासनको टोली परिचालन गरिएको छ भने आसपासका विभिन्न थानाबाट थप प्रहरी बलसमेत खटाइएको छ।
मेलामा घुम्न गएका युवकको चक्कु प्रहारबाट मृत्यु
प्राप्त जानकारीअनुसार मोहम्मदपुर खाजे गाउँका नवनीत कुमार राति आफ्ना साथीहरूसँग मेला घुम्न गएका थिए। सोही क्रममा कुनै विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो। विवादपछि नवनीतमाथि कुटपिट गर्नुका साथै चक्कु प्रहार गरी गम्भीर घाइते बनाइएको आरोप छ। उपचारका क्रममा उनको मृत्यु भएको थियो। घटनालगत्तै प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको थियो।
शव गाउँ पुग्दा आक्रोशित भीडद्वारा आगजनी
आइतबार बिहान पोस्टमार्टमपछि नवनीतको शव गाउँ पुगेसँगै स्थानीयको आक्रोश चुलिएको थियो। त्यसपछि उग्र भीड परतापुर गाउँ पुगेर आरोपित पक्षका घरहरूमा आगजनी गरेको बताइएको छ। आगजनीबाट आधा दर्जनभन्दा बढी घर प्रभावित भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि गाउँमा भागदौड र अफरातफरीको अवस्था सिर्जना भएको थियो। स्थानीय स्रोतका अनुसार घटनाका क्रममा हवाई फायरिङसमेत भएको बताइए पनि यसबारे प्रहरीले आधिकारिक पुष्टि गरेको छैन।
प्रहरी र दमकल टोली परिचालन
घटनाको जानकारी प्राप्त हुनासाथ सरैया अनुमण्डल प्रहरी पदाधिकारी अभिजीत कौर, दमकल टोली तथा आसपासका विभिन्न प्रहरी चौकीबाट सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। दमकलकर्मीहरूको लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। क्षेत्रमा तनाव कायम रहेकाले थप प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले घटनास्थलमा निगरानी बढाउँदै स्थिति सामान्य बनाउने प्रयास गरिरहेको छ।
कानुन हातमा लिनेलाई कारबाही गर्ने एसएसपीको चेतावनी
मुजफ्फरपुरका एसएसपी कान्तेश कुमार मिश्रले हत्याको घटनामा प्रहरीले शीघ्र तथा गहिरो अनुसन्धान अघाइरहेको बताएका छन्। उनले कानुन हातमा लिएर हिंसा तथा आगजनी गर्ने कसैलाई पनि नछाडिने स्पष्ट पारेका छन्। घटनाको अनुसन्धान र सुरक्षा व्यवस्थापनका लागि प्रहरी टोली गाउँमै खटिएको जानकारी दिँदै उनले हत्यापछि उत्पन्न हिंसात्मक अवस्थालाई नियन्त्रणमा लिन प्रहरी प्रशासनले निरन्तर निगरानी गरिरहेको बताएका छन्।