• २०८३ कार्तिक ३० गते आइतवार

धनगढी उपमहानगरपालिकामा प्रवेश शुल्क लाग्ने भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना, आधिकारिक निकायद्वारा खण्डन

लोकराज जोशी पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १, धनगढी । धनगढी उपमहानगरपालिकामा प्रवेश गर्दा सवारीसाधनअनुसार शुल्क तिर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा सूचनाप्रति ध्यानाकर्षण भएको छ। धनगढी उपमहानगरपालिकामा प्रवेश गर्दा कुनै पनि शुल्क नलाग्ने स्पष्ट पार्दै उक्त सूचनालाई भ्रामक भएको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पोस्टमा धनगढी उपमहानगरपालिकामा प्रवेश शुल्क लाग्ने उल्लेख गर्दै एउटा बोर्डको तस्बिरसमेत राखिएको छ। उक्त तस्बिरमा मोटरसाइकलको १०० रुपैयाँ, अटोको २०० रुपैयाँ, जिप वा कारको ४०० रुपैयाँ तथा ठूला सवारीसाधनको १ हजार रुपैयाँ प्रवेश शुल्क लाग्ने उल्लेख गरिएको देखिन्छ। तस्बिरमा बसपार्क ठेक्का समितिको नामसमेत राखिएको छ।

तर, उक्त सूचनामा उल्लेख गरिएजस्तो धनगढी उपमहानगरपालिकामा प्रवेश गर्दा कुनै पनि प्रकारको प्रवेश शुल्क नलाग्ने स्पष्ट पारिएको छ। उपमहानगरपालिकाभित्र प्रवेश शुल्क उठाउने उद्देश्यले कुनै पनि स्थानमा त्यस्तो बोर्ड नराखिएको र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएको भन्दै त्यसलाई भ्रामक सूचना फैलाउने प्रयासका रूपमा लिइएको छ।

उक्त विषयमा स्पष्ट पार्दै धनगढी उपमहानगरपालिकामा प्रवेश गर्दा सवारीसाधनको प्रकारका आधारमा कुनै शुल्क नलाग्ने जनाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक हुने सामग्रीको सत्यतथ्य नबुझी विश्वास गर्दा आम नागरिकमा अनावश्यक भ्रम सिर्जना हुन सक्ने भएकाले यस्ता सूचनाप्रति सचेत रहनसमेत आग्रह गरिएको छ।

त्यस्तै, कसैले धनगढी उपमहानगरपालिका क्षेत्रमा प्रवेश गरेबापत शुल्क लिएको भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ। त्यस्तो घटना भएमा जिल्ला प्रशासन कार्यालय, कैलालीमा उजुरी दिन वा धनगढी उपमहानगरपालिकाको ०९१-५९०६९० नम्बरमा सम्पर्क गरी जानकारी गराउन आग्रह गरिएको छ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै वास्तविक सूचना र भ्रामक सामग्री छुट्याउन चुनौती थपिँदै गएको छ। विशेषगरी स्थानीय तह, सार्वजनिक सेवा र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा गलत सूचना फैलिँदा सर्वसाधारणमा अन्योल उत्पन्न हुन सक्छ। त्यसैले कुनै पनि सूचना सार्वजनिक गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न र शंकास्पद सामग्री देखिएमा सम्बन्धित निकायसँग जानकारी लिन आवश्यक देखिन्छ।

धनगढी उपमहानगरपालिकामा प्रवेश शुल्क लाग्ने भन्ने विषयमा सामाजिक सञ्जालमा फैलाइएको उक्त सूचनाले सर्वसाधारणलाई भ्रमित पार्न सक्ने भएकाले आधिकारिक जानकारीका आधारमा मात्रै धारणा बनाउन र यस्ता सामग्रीको अनावश्यक प्रचारप्रसार नगर्न आग्रह गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस