• २०८३ असोज २ गते शुक्रवार

भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असोज २,रामेछाप । आफ्नो मान्छे गुमाउनुको पीडा कति गहिरो हुन्छ ? त्यसको कुनै मापन हुँदैन । तर, त्यही प्रियजनको शवसमेत नपाउँदा परिवारले भोग्ने पीडा झन् कति असह्य होला ?भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–११ का नौ जनाका परिवारले बिहीबार यही असह्य पीडाबीच आफ्ना प्रियजनलाई अन्तिम बिदाइ गरेका छन् । त्यो बिदाइमा आफ्ना मान्छेको पार्थिव शरीर थिएन । थियो त के शबाट बनाइएको प्रतीकात्मक शरीर ।

लामो समय बितिसक्दा पनि बाढीले बगाएका आफ्ना प्रियजनको शव फेला नपरेपछि परिवारजनले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको आकृति बनाएर सामूहिक अन्त्येष्टि गरेका हुन् । कमलामाई नगरपालिका–११ स्थित बिसारेबेँसीमा आफन्त, परिवारजन र स्थानीयवासीको उपस्थितिमा उनीहरूको सामूहिक अन्तिम संस्कार गरिएको हो । अन्तिमसंस्कारमा स्थानीयको ठुलो उपस्थिति थियो ।

बिहीबार बिसारेबेँसीमा दृश्य निकै पीडादायी थियो । आफ्ना मान्छेको शरीर नहुँदा पनि परिवारजनले कुशबाट बनाइएको आकृतिलाई नै प्रियजनको अन्तिम रूप माने। कसैले आँखाभरि आँसु पार्दै हेरे, कसैले मन थाम्न नसकेर डाँको छाडे। सबैको आँखामा एउटै प्रश्न थिय–‘हाम्रो मान्छे कहाँ छ ?’

परिवारजनका लागि सबैभन्दा ठूलो पीडा आफ्ना प्रियजनको अन्तिम पटक अनुहारसमेत हेर्न नपाउनु थियो । अन्तिम पटक छुन नपाउनु, काखमा राख्न नपाउनु, काँधमा बोकेर घाटसम्म लैजान नपाउनु र आँखाभरि हेरेर ‘अब तिमीलाई बिदाइ गर्छु’ भन्न नपाउनुको पीडा उनीहरूको आँखाबाट बगेका आँसुले बयान गरिरहेका थिए ।

सामान्य अवस्थामा मृत्यु भएपछि परिवारले पार्थिव शरीरलाई अन्तिम पटक स्पर्श गर्छ। अनुहार हेर्छ। आफन्तले काँध दिन्छन्। चितामा राखेर अन्तिम बिदाइ गर्छन् । तर भोटेकोशीको बाढीले यी परिवारबाट त्यो अधिकारसमेत खोसेको छ। बाढीले मान्छे मात्रै बगाएन, परिवारको अन्तिम बिदाइ गर्ने अधिकारसमेत बगाइदियो ।

आफ्नो मान्छे बाढीले बगाएको खबर सुन्नु एउटा पीडा थियो। दिन बित्दै जाँदा शव भेटिएला भन्ने आशामा बाटो हेर्नु अर्को पीडा। तर लामो समय बितिसक्दा पनि शव फेला नपरेपछि अन्ततः कुशको शरीर बनाएर अन्तिम संस्कार गर्नुपर्ने अवस्था आउनु परिवारका लागि पीडामाथिको अर्को पीडा बन्यो ।

बिसारेबेँसीमा भएको सामूहिक दाहसंस्कारमा बाढी प्रभावित परिवारका सदस्य, आफन्त तथा स्थानीयवासी सहभागी थिए। उनीहरूले आँसुका धाराबीच दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे। कसैको छोरा थिए उनीहरू। कसैका बुबा। कसैका श्रीमान्। कसैका दाजुभाइ। कसैका परिवारका सहारा।

आज उनीहरूको सम्झना परिवारको मनमा मात्रै बाँकी छ । घर फर्किने बाटो हेर्दै बसेका आँखाहरू अब कहिल्यै उनीहरूलाई देख्न नपाउने सत्य स्वीकार गर्न बाध्य भएका छन् ।

रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहे पनि सबैको अवस्था अझै यकिन हुन सकेको छैन। लामो समयसम्म शवसमेत फेला नपरेपछि परिवारजनले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको प्रतीकात्मक शरीर बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेका हुन् ।

बिहीबारको त्यो अन्तिम संस्कार केवल एउटा धार्मिक विधि थिएन । त्यो आफ्नो मान्छेको शव पर्खँदापर्खँदै थाकेका परिवारको विवशताको दस्तावेज थियो। त्यो बाढीले निम्त्याएको विनाशको एउटा यस्तो तस्वीर थियो, जहाँ चितामा शव थिएन, तर आँसु भने असैह्य पीडाबाट निस्किएका थिए ।

आफन्तका हातमा कुशको आकृति थियो, तर मनमा आफ्नै मान्छेको अनुहार। आँखासामु चिता बलिरहेको थियो, तर हृदयले अझै आफ्ना प्रियजनको वास्तविक शरीर खोजिरहेको थियो। सायद यही कारण बिसारेबेँसीमा गरिएको त्यो प्रतीकात्मक अन्त्येष्टि उपस्थित सबैका लागि असाध्यै भारी बन्यो।

बाढीमा परी बेपत्ता भएका तथा अन्तिम संस्कार गरिएकामा राजकुमार श्रेष्ठ, बुद्धि विश्राम थिङ, लक्ष्मण सापकोटा, बलबहादुर माझी, सोमबहादुर माझी, भरतबहादुर माझी, बखतबहादुर माझी, टंकबहादुर श्रेष्ठ र विष्णुबहादुर श्रेष्ठ रहेका छन्।

त्यसैगरी प्रेमकुमार घलानको पनि बाढीमा परी ज्यान एको थियो । उनको भने केही दिन अघि कुशको शव बनाएर अन्तिम विदाइ गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस