• २०८३ असार ४ गते बिहिवार

विश्वकपमा आजराती स्विट्जरल्यान्ड र बोस्निया हर्जगोभिना भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार ४, काठमाडौं ।  जारी विश्वकपमा आज राति स्विट्जरल्यान्ड र बोस्निया हर्जगोभिना खेल्दैछन् । लस एन्जल्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदैछ । पहिलो खेलमा स्विट्जरल्यान्डले निकै पीडादायी अन्त्य भोगेको थियो । कतारले खेलको ९३ मिनेट ५९ सेकेन्डमा बराबरी गोल फर्काउँदै खेल १-१ को बराबरीमा टुंग्याएको थियो । यो गोल समूह चरणमा १९६६ पछि गरिएको सबैभन्दा ढिलो बराबरी गोलमध्ये तेस्रो ढिलो गोल हो ।

स्विट्जरल्यान्डले उक्त खेलमा २६ वटा प्रहार गरेको थियो, जुन विश्वकप इतिहासमै उसको सबैभन्दा धेरै प्रहार संख्या हो । खेलमा सहभागी १६ खेलाडीमध्ये १४ जनाले या त प्रहार गरेका थिए वा मौका सिर्जना गरेका थिए । प्रहार नगर्ने दुई खेलाडी गोलकिपर ग्रेगर कोबेल र विकल्पमा आएका मिरो म्युएहम थिए, तर म्युएहमले दुर्भाग्यपूर्ण रूपमा आत्मघाती गोलसमेत गरेका थिए । यो नतिजापछि स्वदेशमा टोलीमाथि कडा आलोचना भएको छ ।

फिफा वरीयतामा १९औं स्थानमा रहेको र लगातार छैटौँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डलाई नकआउट चरण पुग्ने सहज टोलीका रूपमा हेरिएको थियो । तर अब अवस्था त्यति सहज देखिँदैन ।

बोस्निया भने अझै आक्रामक र सिधा खेल शैलीमा विश्वास गर्छ । प्रशिक्षक सर्जे बार्बारेजलाई देशलाई २०१४ पछि पहिलो पटक विश्वकपमा फर्काएको कारण नायकको रूपमा हेरिएको छ । पहिलो खेलमा क्यानडासँग खेल्दा बोस्निया जित नजिक पुगेको थियो । मुख्य स्ट्राइकर एडिन जेको अनुपस्थितिमा जोभो लुकिचले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए, जुन उनको मात्र चौथो खेल थियो । तर खेल अन्ततः बराबरीमा टुंगिएको थियो । यद्यपि पछिल्ला १२ प्रतिस्पर्धात्मक खेलमध्ये बोस्निया केवल एक खेलमा मात्र पराजित भएको छ । त्यसअघि भने १५ खेलमध्ये १२ हारको कठिन अवस्था थियो । अझ रोचक कुरा, पछिल्ला सबै ६ खेल बराबरीमा टुंगिएका छन्, जसमा प्लेअफका दुई खेल पेनाल्टीसम्म पुगेका थिए । लगातार ७ बराबरी खेल्ने कुनै पनि युरोपेली टोली अहिलेसम्म छैन ।

यदि बोस्नियाले फेरि हार टारे भने, राष्ट्रिय कीर्तिमान बन्नेछ । स्वतन्त्र भएपछि उसले पहिले पनि दुई पटक लगातार ९ खेल अपराजित यात्रा बनाएको थियो ।

दुई टोलीबीचको इतिहास हेर्दा पनि रोचक छ । स्विट्जरल्यान्डले युरोपेली टोलीसँग खेलेका पछिल्ला ५ विश्वकप खेलमा २३ गोल भएका छन् ।

स्विट्जरल्यान्डका प्रमुख फरवार्ड ब्रेल एम्बोलो अहिले उत्कृष्ट लयमा छन् । कतारविरुद्धको पेनाल्टीसहित उनले आफ्नो पछिल्ला १३ खेलमा १० गोल गरेका छन् । पूर्व स्टार खेलाडी जेरदान शाकिरीको अनुपस्थितिमा पनि स्विट्जरल्यान्डको टोली अनुभवले भरिएको छ । कप्तान ग्रानिट झाका र रिकार्डो रोड्रिगेजले १०० भन्दा बढी खेल खेलिसकेका छन् र सात प्रमुख प्रतियोगितामा सहभागिता जनाइसकेका तीन खेलाडीमध्ये पर्छन् ।

बोस्निया हर्जगोभिनाको टोली भने अनुभव र युवा खेलाडीको मिश्रण हो । ४० वर्षका कप्तान एडिन जेकोले अनुभवी पक्ष सम्हालिरहेका छन् भने १८ वर्ष २६४ दिनका केरिम अल्बेगोभिच टोलीका सबैभन्दा कान्छा खेलाडी बनेर विश्वकपमा इतिहास बनाइसकेका छन् ।

यी दुई टोली अहिलेसम्म विश्वकपमा एकअर्कासँग कहिल्यै भिडेका छैनन् । तर १० वर्षअघि जुरिचमा भएको मैत्रीपूर्ण खेलमा बोस्नियाले स्विट्जरल्यान्डलाई २-० ले हराएको थियो, जहाँ एडिन जेको र मिरालेम प्यानिचले गोल गरेका थिए ।

समुह बी मा चारै देशको एक एक अंक रहेकाले अब दोस्रो खेलपछि अर्को चरणमा जाने देशको थप स्पष्टता हुने देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस