जेठ ४, काठमाडौं । अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर दिएको कडा चेतावनीपछि बजारमा अनिश्चितता बढ्दा तेलको मूल्य उकालो लागेको हो ।

ट्रम्पले इरानसँग शान्ति सम्झौताको लागि समय सीमित रहेको संकेत गर्दै समय तीव्र गतिमा सकिँदै गएको बताएका थिए । त्यसपछि सोमबार ब्रेन्ट क्रुड तेल प्रति ब्यारेल ११०.७२ अमेरिकी डलरसम्म पुगेको थियो । त्यस्तै अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड तेल प्रति ब्यारेल १०७.२८ डलरमा कारोबार भएको देखिएको छ ।
विश्लेषकहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
विशेषज्ञहरूले ट्रम्पको भनाइपछि पश्चिम एसियामा तनाव अझ बढ्न सक्ने आशंका बलियो बनेको बताएका छन्। यसले विश्वव्यापी तेल आपूर्तिमा जोखिम थपिएको उनीहरूको मूल्याङ्कन छ ।
दीर्घ समयसम्म तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रह्यो भने विश्वव्यापी महँगी, ढुवानी लागत र आर्थिक वृद्धि सबैमा नकारात्मक असर पर्न सक्ने चेतावनी पनि विश्लेषकहरूले दिएका छन् ।