• २०८३ कार्तिक १ गते शनिवार

युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३१, काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो। क्यानडाका लागि सम्राले ११७ बलमा १०५ रनको शतकीय इनिङ्स खेले।

त्यस्तै, आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए। एक समय २१९ रनमा तीन विकेट गुमाएको क्यानडा त्यसपछि लगातार विकेट गुमाउँदै २५६ रनमा समेटिएको हो। नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३९ रन खर्चेर चार विकेट लिए। सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेलले एक विकेट हात पारे।

अब नेपालले जितका लागि २५७ रन बनाउनुपर्नेछ। नेपालको जितले लिग–२ को अंकतालिकामा छैटौं स्थान सुरक्षित गर्नेछ। नेपाल पराजित भए क्यानडा छैटौं स्थानमा उक्लिनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने अवस्था आउनेछ।

लिग–२ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौं स्थानमा रहेको छ।

नेपालले यसअघि जारी शृङ्खलामा क्यानडा र ओमान दुवैलाई पराजित गरिसकेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि आजको खेल निर्णायक महत्वको बनेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस