भदौ १, काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज सोमबार बिहानै अदालत उपस्थित गराएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले दिएको तीन दिन समय सकिएपछि अदालतले फेरी म्याद थप गरेको हो ।

त्यस्तै, श्रेष्ठको पक्राउविरुद्ध सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा पनि आजै सुनुवाइ हुँदैछ । सो रिट सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाई हुदैछ ।
यसअघि शुक्रबार सर्वोच्चले श्रेष्ठलाई उनको कार्यलयबाट बरामद गरिएका सामानसहित हाजिर गराउन आदेश जारी गरेको थियो । श्रेष्ठ गत बुधबार वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए ।