भदौ १, काठमाडौं । नेपालमा पछिल्लो समय विभिन्न उमेर समूह र क्षेत्रका व्यक्तिलाई लक्षित गर्दै सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिताहरू आयोजना हुने क्रम बढेको छ । यस्तै प्रतियोगितामध्ये विवाहित महिलाका लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वल्र्ड २०२६’ को अडिसनमा उल्लेख्य संख्यामा विवाहित महिलाको सहभागिता देखिएको छ ।

व्यक्तिगत पहिचान निर्माण गर्ने, आत्मविश्वास बढाउने, नयाँ ज्ञान हासिल गर्ने तथा विवाहपछि अधुरा रहेका सपना पूरा गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रका महिलाहरू अडिसनमा सहभागी भएका छन् । उनीहरूले सौन्दर्यसँगै आफ्नो क्षमता, प्रतिभा, विचार र सामाजिक उद्देश्यलाई समेत प्रतियोगिताको माध्यमबाट प्रस्तुत गर्ने बताएका छन् ।
अडिसनमा सहभागी सुनिता श्रेष्ठ कर्माचार्यले प्रतियोगितालाई नयाँ कुरा सिक्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसरका रूपमा लिएको बताइन् । ‘मिसेस नेपाल वल्र्ड २०२६’को प्रतिस्पर्धीका रूपमा आफू आएको भन्दै उनले अन्तिम चरणसम्म पुग्ने आशा रहेको बताइन् । ‘मैले कोसिस गर्ने हो, फाइनलसम्म पुगेँ भने सबैभन्दा राम्रो भइहाल्यो, नत्र पनि केही न केही नयाँ कुरा सिक्नेछु,’ उनले भनिन् ।
महिलाको आत्मविश्वास बढाउन यस्ता प्रतियोगिता आवश्यक रहेको उनको भनाइ छ । यस्ता प्लेटफर्मले महिलालाई अगाडि बढ्न र नयाँ कुरा सिक्न अवसर दिने भन्दै उनले आयोजकप्रति आभार व्यक्त गरिन ।
त्यस्तै, श्रद्धा श्रेष्ठले ‘राइज एन्ड साइन’ अवधारणासहित प्रतियोगितामा सहभागी भएको बताइन् । शैक्षिक तथा कानुनी परामर्शदाताका रूपमा काम गर्दा महिलाका समस्या नजिकबाट देखेको भन्दै उनले महिला सशक्तीकरणका लागि शिक्षा र आर्थिक स्वतन्त्रता महत्वपूर्ण रहेको बताइन् ।
उनका अनुसार महिलाले अरू कसैले अवसर सिर्जना गरिदेला भनेर पर्खनुभन्दा आफ्ना लागि आफैं अवसर सिर्जना गर्नुपर्छ । ‘महिला सशक्तीकरणका लागि काम गर्नु र त्यसलाई अगाडि बढाउने विषयमा पहल गर्नु मुख्य उद्देश्य हो,’ उनले भनिन् ।
स्वेच्छा पौडेल भने सामाजिक सञ्जालमा देखेको विज्ञापनबाट प्रभावित भएर अडिसनमा सहभागी भएकी हुन् । विवाहपछि पनि महिलाले आफ्ना इच्छा र क्षमता अनुसार अघि बढ्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नु आफ्नो उद्देश्य रहेको उनले बताइन् ।
‘म्यारिज इज नट द एन्ड’ अर्थात् विवाह नै जीवनको अन्त्य होइन भन्ने सन्देश दिन चाहेको उनले बताइन् । आफूमा आत्मविश्वास भए र केही गर्ने इच्छाशक्ति भए विवाहपछि पनि आफ्नो सपना पूरा गर्न सकिने उनको भनाइ छ ।
पौडेलले अडिसनको व्यवस्थापन राम्रो रहेको बताउँदै प्रतियोगितामार्फत नयाँ साथी तथा सामाजिक सम्बन्ध विस्तार गर्ने अवसरसमेत पाएको बताइन् ।
सोफिया ढकाल, जो पेशाले सब–इन्जिनियर हुन्, आफ्नो लामो समयदेखिको अधुरो सपना पूरा गर्न प्रतियोगितामा सहभागी भएकी छन् । विवाहअघि देखेको सपना पूरा हुन नसके पनि अहिले त्यसलाई निरन्तरता दिन पाएको उनले बताइन् ।
विशेषगरी आफ्नी छोरीलाई विवाहपछि पनि महिलाको जीवन रोकिन्न भन्ने उदाहरण देखाउन चाहेको उनको भनाइ छ । ‘छोरी, आमा र श्रीमती भइसकेपछि पनि जीवन अधुरो हुँदैन । विवाहपछि पनि आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने कुरा छोरीलाई देखाउन चाहन्छु,’ उनले भनिन् ।
उनका लागि प्रतियोगितामा सहभागी हुनु नै ठूलो उपलब्धि हो । जित वा हारभन्दा पनि आफूले अवसरको सदुपयोग गर्न पाएकोमा उनी उत्साहित छिन् ।
धोबिघाटबाट अडिसनमा सहभागी ऋचा शर्माले पनि आफूले चाहेको काम गर्न परिवारबाट निरन्तर समर्थन पाइरहेको बताइन् । आफ्नो क्षमता र रुचिका काम गर्न महिलाले आफैंलाई सीमित गर्न नहुने उनको भनाइ छ ।
चितवन भरतपुरकी रचना श्रेष्ठले विवाहित महिलाका लागि यस्तो प्लेटफर्म निकै महत्वपूर्ण रहेको बताइन् । प्रतियोगितामार्फत व्यक्तित्व विकाससँगै नयाँ कुरा सिक्ने अवसर प्राप्त हुने उनको विश्वास छ ।
त्यस्तै ज्योति लामिछानेले प्रतियोगितालाई व्यक्तित्व विकासको अवसरका रूपमा लिएकी छन् । बोल्ने, हिँड्ने, सञ्चारमाध्यम सामना गर्नेलगायत समग्र व्यक्तित्व विकासमा प्रतियोगिताले सहयोग गर्ने उनको भनाइ छ ।
यदि आफू विजेता बनेको खण्डमा स्वास्थ्य र विपन्न महिलाका क्षेत्रमा योगदान गर्ने आफ्नो योजना रहेको उनले सुनाइन् ।
२२ वर्षदेखि परिवारसहित साउदी अरबमा बस्दै आएकी अर्की सहभागीले पनि नेपाल आएका बेला सामाजिक सञ्जालमा देखेको विज्ञापनपछि अडिसनमा सहभागी हुने निर्णय गरेको बताइन्।
प्रतियोगिताको ‘बि बोल्ड, बि ब्युटिफुल, बि कन्फिडेन्ट’ भन्ने अवधारणालाई आत्मसात् गर्दै आफू सहभागी भएको उनको भनाइ छ ।
उनका अनुसार विवाहित महिलाले घर र परिवारको भूमिकासँगै आफ्नो क्षमता र प्रतिभालाई पनि बाहिर ल्याउन आवश्यक छ । त्यसका लागि आत्मविश्वास, इच्छाशक्ति र परिवारको साथ महत्वपूर्ण हुने उनले बताइन् ।
अडिसनमा सहभागी महिलाहरूका भनाइमा एउटै साझा भावना देखिन्छ कि विवाह महिलाको सपनाको अन्त्य होइन । घर, परिवार र पेशागत जिम्मेवारीसँगै आफ्नो क्षमता र रुचिलाई अघि बढाउन सकिन्छ भन्ने सन्देश उनीहरूले प्रतियोगितामार्फत दिन खोजेका छन् ।
यस अर्थमा ‘मिसेस नेपाल वल्र्ड २०२६’ उनीहरूका लागि एकमात्र सौन्दर्य प्रतियोगिता नभई आत्मविश्वास, व्यक्तित्व विकास, महिला सशक्तीकरण र अधुरा सपना पूरा गर्ने एउटा प्लेटफर्मका रूपमा देखिएको छ ।