जेठ ३, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन् । वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध उजुरी आह्वान गरेकोमा ७ उजुरी परेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । समितिले शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने पनि उल्लेख गरिएको थियो । उजुरी दिने समय सोमबारसम्म रहेको छ । प्राप्त भएका उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ हुनेछ । न्यायाधीश डा. शर्मालाई बैशाख २४ गते बसेको संबैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।
२- रोयल च्यालेंजन्स बैंगलुरुले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई २३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । बैंगलुरुले दिएको २२३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ५६ रन बनाए भने कूपर कोन्नोलीले ३७, मार्कस स्टोइनिसले ३७ र सुर्यांश शेडजेले ३५ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले वेंकटेस अय्यरको अविजित ७३, विराट कोहलीको ५८ र देवदत्त पाडिकलको ४५ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पञ्जावको भने १३ खेलमा १३ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।
३- रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रूसस्थित भारतीय दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा भारतीय कामदारको ज्यान गएको जनाएको हो । दूतावासका अधिकारीहरूले घटनास्थल र अस्पताल पुगेर घाइतेहरूसँग भेट गरेको पनि बताइएको छ । दूतावासले घाइतेहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी व्यवस्थापन र स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ । यसअघि रूसी अधिकारीहरूले युक्रेनतर्फबाट मस्को क्षेत्रमा ठूलो स्तरको ड्रोन आक्रमण भएको दाबी गरेका थिए । रूसी प्रशासनका अनुसार आक्रमणमा तीन जनाको मृत्यु भएको छ । क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार राजधानीको उत्तरस्थित खिम्की क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने पोगोरेल्की गाउँमा एक पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा १२ जना घाइते भएको बताएका छन् । रूसी सेनाले ५५६ वटा ड्रोन खसालिएको दाबी गरेको छ । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनका शहरमाथि रूसले गरिरहेको घातक आक्रमणको जवाफस्वरूप यी कारबाही ‘पूर्ण रूपमा जायज’ रहेको बताएका छन् ।
४- प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथा आरोहणमा नयाँ किर्तिमान बनाएकोमा कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दुवै आरोहीलाई बधाई दिदै उनीहरूले फेरि विश्वलाई नेपालको क्षमता, साहस र धैर्यको परिचय दिएको बताएका हुन् । विश्वविख्यात आरोही कामीरिता शेर्पाले आज बिहान १० बजेर १२ मिनेटमा ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः कायम गरेका छन् । त्यस्तै ‘माउन्टेन क्विन’ भनेर चिनिने लाक्पा शेर्पाले बिहान ९ बजेर ३० मिनेटमा ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक शिखर चुम्ने विश्व कीर्तिमान बनाएकी छन् । प्रधानमन्त्री शाहले दुबै आरोहीको उपलब्धिलाई ऐतिहासिक भन्दै बधाई दिएका छन् । उनले यस्तो सफलता निरन्तरको साहस, अनुशासन र समर्पणबाट मात्र सम्भव हुने बताएका छन् । उनले शेर्पा समुदायको योगदानलाई पनि विशेष रूपमा स्मरण गर्दै उनीहरूलाई हिमाली पर्यटनको मेरुदण्डका रूपमा वर्णन गरेका छन् । प्रधानमन्त्रीका अनुसार शेर्पाहरूको ज्ञान, श्रम र साहस बिना नेपालको पर्वतारोहण इतिहास अधुरो रहनेछ । यो उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई थप विश्वसनीय र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
५- नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको बिदाई गरेको छ । क्यानले दुवै प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया जानु अघि आइतबार बिदाई गरेको हो । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीहरुमा सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको छ । एशियन गेम्सको क्वालिफायर्स प्रतियोगिता मलेसियामा मे २३ देखि ३१ सम्म हुदै छ भने एसीसी वुमन्स प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा नै हुदैछ ।
६- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले कानुनी प्रक्रियागत निष्पक्षतालाई कडाइका साथ समर्थन गर्दै कुनै पनि अनुसन्धान वा कारबाहीमा यसको पूर्ण पालना अनिवार्य हुनुपर्ने जनाएको छ । हालै प्रहरीले विभिन्न शैक्षिक परामर्श केन्द्रमा छापा मारेर संचालकलाई गरेको पक्राउप्रति संघले आफ्नो आधिकारिक धारणा सार्बजनिक गर्दै केही व्यक्तिगत घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधसँग जोड्ने प्रवृत्ति गलत भएको बताएको हो ।संघले दोष व्यक्तिगत रूपमा मात्र निर्धारण हुनुपर्ने र समग्र क्षेत्रलाई बदनाम गर्न नहुनेमा जोड दिइएको छ । यस्ता गतिविधिले वैधानिक संस्थाको प्रतिष्ठा, लगानीको सुरक्षा र उद्यमशीलताको अधिकारमा असर पार्ने चेतावनी पनि दिइएको छ । संघले प्रशासनिक गल्ती र गम्भीर आपराधिक ठगीबीच स्पष्ट छुट्याउनुपर्ने माग गर्दै तीन तहको वर्गीकरण लागू गर्न सुझाव दिएको छ । ठगी, नक्कली कागजात वा आर्थिक हिनामिनालाई कडा कानुनी कारबाही गर्नुपर्ने, जबकि नवीकरण ढिलाइ वा कागजी कमजोरी जस्ता विषयमा जरिवाना र सुधारको समय दिनुपर्ने उसको भनाइ छ । यस्तै कानुनी अस्पष्टताबाट उत्पन्न विवादमा संवाद र स्पष्टता आवश्यक हुने उल्लेख गरिएको छ । अभियोग प्रमाणित नहुँदै नाम सार्वजनिक गर्ने अभ्यासले निर्दोष मानिने अधिकारको उल्लङ्घन हुने भन्दै संघले यस्ता कार्य रोक्न आग्रह गरेको छ । साथै, अस्थिर नियामकीय वातावरणले लगानी, रोजगारी र उद्यमशीलतामा त्रास बढाएको चेतावनी दिइएको छ । संघले यो क्षेत्र नेपालका हजारौँ रोजगारी, ठूलो मात्रामा वैदेशिक मुद्रा आर्जन र मानव पूँजी विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताएको छ । वार्षिक ठूलो संख्यामा विद्यार्थी विदेश अध्ययनका लागि जाने र त्यसबाट अर्बौँ रुपैयाँको आर्थिक योगदान हुने उल्लेख गरिएको छ । त्यसैगरी, डिजिटल शिक्षा परामर्श र अनलाइन भर्ना प्रणालीहरू स्पष्ट कानुनी दायरामा नआउँदा असन्तुलन बढेको संघको भनाइ छ । भौतिक रूपमा दर्ता भएका संस्था कडा अनुगमनमा हुँदा अनलाइन तथा विदेशी प्लेटफर्म भने नियमनबाहिर रहेको, जसले कर, पारदर्शिता र डेटा सुरक्षामा समस्या ल्याएको उल्लेख गरिएको छ । संघले शिक्षा परामर्श क्षेत्रलाई स्पष्ट कानुनी संरचनाभित्र ल्याउन सरकारसँग निरन्तर समन्वय र नीतिगत सुधारको आवश्यकता औँल्याएको छ ।
७- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता मजबुत बनाउन आफू निरन्तर प्रयासरत रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझ के गर्नुपर्ने हो स्पष्ट रूपमा बताउन आग्रह गरेका हुन् । उनले भने- ‘सबैलाई सँगै लिएर जाने भनेर खुलेरै भनिरहेको छु, बन्द कोठामा पनि यही कुरा दोहोर्याएको छु । अझ निहुरिएर र हात जोडेर पनि आग्रह गरेको छु । अब के गर्दा प्रयास मानिने हो ?’ नेता पूर्णबहादुर खड्काले हालै पार्टी फुटको जोखिमबारे दिएको अभिव्यक्तिप्रति संकेत गर्दै थापाले नेताहरूसँग निरन्तर संवाद भइरहेको बताए । उनले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैलाई अवसर नदिने नीति नहुने स्पष्ट पारेका थिए । पार्टीका कुनै पनि तहमा त्यस आधारमा निर्णय नहुने उनको भनाइ थियो । क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी विवादबारे पनि उनले टिप्पणी गर्दै नयाँ सदस्यता र युवा सहभागितालाई अवरोध गर्न नहुने बताए । उनले पुराना नेताहरूलाई समेत समेटेर अघि बढ्ने र सबैलाई सम्मानजनक स्थान दिँदै काम गर्न चाहेको धारणा राख्दै आगामी महाधिवेशनका लागि निष्पक्ष संरचना बनाउन सबै पक्षसँग नाम सुझाव मागिएको बताए । उनले विशेष महाधिवेशनमा सहभागी नभएका पक्षलाई पनि समेटेर अघि बढ्न आफूले काम गरिरहेको बताउदै सार्वजनिक मञ्चदेखि नेताहरूको घरदैलोमा पुगेर समेत एकता कायम गर्न प्रयास गरे पनि केही नेताहरूले त्यस्तो प्रयास नभएको भनेर टिप्पणी गर्ने गरेको गुनासो गरेका थिए ।
८- सरकारले सार्वजनिक जग्गा संरक्षणको नाममा वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको आरोप लगाउँदै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आज बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा ठूलो संख्यामा सहभागीहरू सडकमा उत्रिएका थिए । प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको थियो । त्यहाँबाट मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेपछि कार्यक्रम सभामा परिणत गरिएको समितिले जनाएको छ । प्रदर्शनमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको उल्लेख्य उपस्थिति रहेका २२ भन्दा बढी जिल्लाबाट आएका मानिसहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिएका थिए । प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । आयोजकहरूले सरकारले लामो समयदेखि बसोबास गर्दै आएका बस्तीलाई वैकल्पिक व्यवस्था बिना हटाउने प्रयास गरेको भन्दै तत्काल समाधान खोज्न माग गरेका छन् ।
९- काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् । आइतबार भएको महानगरको ४९औं कार्यपालिका बैठकमा डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरिएको थियो । डंगोलले काठमाडौँ महानगरले आयोजना गर्ने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाको लागि आफु त्यसतर्फ जान लागेको बताएकी छन् । फ्रान्सको कान्समा जारी फिल्म फेस्टिभल मे १२ देखि शुरु भएको छ भने मे २३ सम्म चल्ने छ ।
१०- जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक बनेका छन् । गत जनवरीमा रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका अलोन्सोले चेल्सीमा चार बर्षको सम्झौता गरेको क्लबले औपचारिक जानकारी दिएको छ । चेल्सीसँग सम्झौता गरेपछि ओलोन्सोले भनेका छन्- ‘क्लबको स्वामित्व समूह र खेल नेतृत्वसँग भएका मेरा छलफलबाट हाम्रो लक्ष्य एउटै रहेको स्पष्ट भएको छ । हामी निरन्तर उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्ने र उपाधिका लागि लड्न सक्षम टोली निर्माण गर्न चाहन्छौं । यो टोलीमा उत्कृष्ट प्रतिभा छ र क्लबभित्र ठूलो सम्भावना पनि रहेको छ । यस्तो क्लबको नेतृत्व गर्न पाउनु मेरा लागि ठूलो सम्मानको विषय हो । अब हाम्रो ध्यान कडा मेहनत, सही संस्कृतिको निर्माण र उपाधि जित्ने लक्ष्यमा केन्द्रित हुनेछ ।’ उनले चेल्सीमा २०३० को जुनसम्मका लागि सम्झौता गरेका छन् । उनको सम्झौता जुलाई १ देखि शुरु हुने क्लबले जानकारी दिएको छ । अलोन्सोले यसअघि रियल म्याड्रिड र बायर लिभरकुसनको प्रशिक्षक बनेका थिए । रियल म्याड्रिडमा उनको कार्यकाल सफल नभए पनि लिभरकुसनमा भने उनले टिमलाई जर्मन लिग, डिएफबी पोकाल र डिएफएल सुपर कपको उपाधि जिताएका थिए । ४४ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सोले आफ्नो खेल जीवनको ६ बर्ष लिभरपुल र ६ बर्ष रियल म्याड्रिडमा बिताएका थिए । उनले ३ बर्ष बायर्न म्युनिखमा खेलेपछि सन्यास लिदै प्रशिक्षणतर्फ लागेका थिए । खेलाडीको रुपमा उनले स्पेनको राष्ट्रिय टिमबाट भने २००३ देखि २०१४ सम्म ११४ खेल खेलेका थिए । उनी स्पेनले २०१० को विश्व्कप तथा २००८ र २०१२ को युरोकप जित्दा टिमको महत्वपूर्ण सदस्य थिए ।
११- सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सहायक हवल्दार अनिता कार्किले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् । इलाम जिल्लाको सन्दकपुर गाँउपालीका माबु मा जन्म लिएकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएको सशस्त्र प्रहरीले जनाएको छ । पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरुले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् । आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए । उनीहरुको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।
१२- डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म २४६ वटा शंकास्पद संक्रमित फेला परेका छन् भने ८० जनाको मृत्यु भइसकेको छ । यद्यपि यसलाई अहिलेको अवस्थामा ‘विश्वव्यापी महामारी आपत्काल’को श्रेणीमा नराखिएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले संक्रमितको वास्तविक संख्या र रोग फैलिने अवस्थाबारे अझै धेरै अनिश्चितता रहेको चेतावनी दिएका छन् । यसपटक फैलिएको इबोला ‘बुन्डीबुग्यो’ नामक भाइरसका कारण भएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस भाइरसविरुद्ध हालसम्म प्रभावकारी औषधि वा खोप उपलब्ध छैन । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले संक्रमण कंगो बाहिर पनि फैलिन थालेको जनाएको छ। छिमेकी युगान्डा मा पनि दुई संक्रमित भेटिएको पुष्टि गरिएको छ । युगान्डाका अधिकारीहरूका अनुसार ५९ वर्षीय एक पुरुषको बिहीबार मृत्यु भएको थियो र उनको परीक्षण रिपोर्ट इबोला सङ्क्रमण पुष्टि भएको थियो । विशेषज्ञहरूले कंगोका छिमेकी देशहरू उच्च जोखिममा रहेको बताएका छन्। सीमावर्ती क्षेत्रमा मानिसहरूको आवतजावत, व्यापार तथा यात्रा धेरै हुने भएकाले संक्रमण थप फैलिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
१३- राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वर्तमान सरकारले देशमा चर्चामा रहेका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीलाई कानुनी कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका हुन् । उनले लाउडा विमान घोटाला, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, वाइडबडी विमान खरिद विवाद, सुडान एपीसी काण्ड, ३३ किलो सुन प्रकरण, मेलम्ची खानेपानी आयोजना विवाद तथा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डजस्ता बहुचर्चित घटनामा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। त्यस्तै ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद, टेरामक्स काण्ड, बालुवाटार जग्गा प्रकरण, सहकारी घोटाला, नेपाल ट्रस्ट जग्गा विवाद, कर फर्छ्योट आयोग घोटाला, फास्ट ट्र्याक मुआब्जा प्रकरण, बुढीगण्डकी मुआब्जा काण्ड तथा एनसेल कर विवादलाई पनि उनले प्रमुख भ्रष्टाचार प्रकरणका रूपमा उल्लेख गरेका छन् । शाहीले नेपाल आयल निगम इन्धन खरिद विवाद, रेल्वे खरिद काण्ड, कृषि अनुदान घोटाला, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण तथा ठेक्का विवाद, कोभिड–१९ परीक्षण तथा क्वारेन्टिन खर्च अनियमितता, प्रश्नपत्र चुहावट, ढुंगा–गिटी उत्खनन काण्ड र रासायनिक मल खरिद घोटालामा पनि कारबाही आवश्यक रहेको बताएका छन् । उनले सांसद विकास कोष दुरुपयोग, नक्कली शैक्षिक प्रमाणपत्र, काठ तस्करी, गोर्खा फाइनान्स घोटाला, ओरियन्टल सहकारी काण्ड, युनिटी लाइफ घोटाला, नक्कली भ्याट बिल प्रकरण, भन्सार राजस्व चुहावट तथा विदेश रोजगार ठगी काण्डलगायतका विषयमा पनि दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। शाहीले सुशासन कायम गर्न सरकार कठोर रूपमा प्रस्तुत हुनुपर्ने र भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
१४- ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले ११औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । शेर्माले आइतबार बिहान ९ बजेर ३० मिनेटमा ११औं पटक सगरमाथाको सफल आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेकी छन् । उनले यसअघि आफैले राखे १० पटक आरोहणको किर्तिमान तोडेकी हुन् । उनले पछिल्लो पटक २०२२ को मे १२ मा १० औं पटक सगरमाथाको आरोहण गरेकी थिइन् । उनले पहिलो पटक सन् २००० मा सगरमाथाको आरोहण गरेकी थिइन् भने त्यसपछि २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ र २०२२ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण किर्तिमान बनाएकी छन् ।
१५- कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् । गत वर्ष जेठ १३ गते कामिरिताले ३१औँ पटक सगरमाथाको आरोहण पूरा गरेका थिए । उनले विस २०८१ को एकै सिजनमा २९ र ३०औं पटक आरोहण पूरा गरेका थिए । कामिरिताले विस २०७९ को वसन्त ऋतुमा पनि दुई पटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए । उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४५ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५३९० मा कारोबार भएको थियो ।
१७- भारत सरकारले चाँदी आयातसम्बन्धी नियम तत्कालबाट कडा बनाएको छ । बहुमूल्य धातुमा भन्सार शुल्क वृद्धि गरेको केही दिनमै सरकारले यस्तो निर्णय लिएको हो । यसबाट आन्तरिक बजार तथा व्यापार सन्तुलनमा असर पर्ने अपेक्षा गरिएको छ । विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै चाँदीको आयात नीतिलाई ‘मुक्त’ श्रेणीबाट ‘प्रतिबन्धित’ श्रेणीमा राखिएको जनाएको छ । यो व्यवस्थामा सुन तथा प्लाटिनमको जलप लगाइएको चाँदी पनि समावेश गरिएको छ । प्रतिबन्धित श्रेणीमा परेका वस्तु आयात गर्न अब सरकारबाट अनुमति पत्र लिन अनिवार्य हुने भएको छ। नयाँ व्यवस्था तत्कालै लागू भएको जनाइएको छ । यसअघि गत मे १३ मा सरकारले बहुमूल्य धातुमा लगाइने आयात शुल्कमा ठूलो वृद्धि गरेको थियो। ६ प्रतिशत रहेको भन्सार शुल्क बढाएर १५ प्रतिशत पुर्याइएको थियो । यो निर्णय सुनसहित अन्य बहुमूल्य धातुमा पनि लागू गरिएको थियो । सरकारको पछिल्लो कदमले चाँदीको आयात प्रक्रिया थप नियन्त्रणमुखी र जटिल बन्ने देखिएको छ । पहिले चाँदी ‘मुक्त’ श्रेणीमा रहेकाले सहज रूपमा आयात गर्न सकिन्थ्यो। अब भने आयातकर्ताले चाँदी भित्र्याउन सरकारी अनुमति लिनुपर्नेछ । विशेषज्ञहरूका अनुसार भन्सार शुल्क वृद्धि र आयातमा कडाइका कारण बहुमूल्य धातुको आयात महँगो हुने सम्भावना छ । यसले भारतभित्रको चाँदी व्यापार तथा बजार मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
१८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै ओलीले मदन भण्डारीलाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै नभई युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने र जनताको बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका हुन् । ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्दै अध्यक्ष ओलीले समय बित्दै जाँदा पनि त्यो पीडाको अनुभूति अझ गाढा बन्दै गएको बताएका छन् । उनले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गर्दै जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन् । अध्यक्ष ओलीले मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादले विचारलाई समयअनुसार मौलिक परिष्कार गर्दै आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसम्म पुर्याउने मार्गचित्र तयार गरेको बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पनि त्यही वैचारिक धरातलमा अघि बढाइएको उल्लेख गर्दै पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको दाबी उनले गरेका छन् । ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरू शारीरिक रूपमा नरहे पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भसरह रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित विचार भएको उनको भनाइ छ । भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो ।
१९- एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको ७१औं मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो म्यानचेस्टर सिटीले जितेको आठौ एफए कप उपाधि हो । एफए कपको उपाधि सबै भन्दा बढी पटक जित्ने किर्तिमान भने आर्सनलको नाममा रहेको छ । आर्सनलले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडले १३ पटक एफए कपको उपाधि जितेको छ । त्यस्तै चेल्सीले पनि आठ पटक यो उपाधि जितेको छ । पछिल्लो पटक चेल्सीले २०१८ मा यो उपाधि जितेको थियो ।
२०- कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले गुजरातलाई २९ रनले पराजित गरेको हो । कोलकताले दिएको २४८ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ८५ रन बनाएका थिए भने जोस बटलरले ५७ र साइ सुदर्शनले ५३ रन बनाएका थिए । यस अघिटस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकोताका लागि फिन एलेनले सर्बाधिक ९३ रन बनाए भने अंगकृश रघुबंशीले ८२, क्यामरुन ग्रीनले ५२ रन बनाएका थिए । यो जितपछि कोलकोताको १२ खेलमा ११ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै गुजरातको भने १३ खेलमा १६ अंक रहेको छ ।र दोस्रो स्थानमा रहेको छ ।