• २०८३ जेष्ठ ३ गते आइतवार

रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमण, एक भारतीयको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रूसस्थित भारतीय दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा भारतीय कामदारको ज्यान गएको जनाएको हो । दूतावासका अधिकारीहरूले घटनास्थल र अस्पताल पुगेर घाइतेहरूसँग भेट गरेको पनि बताइएको छ ।

दूतावासले घाइतेहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी व्यवस्थापन र स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ । यसअघि रूसी अधिकारीहरूले युक्रेनतर्फबाट मस्को क्षेत्रमा ठूलो स्तरको ड्रोन आक्रमण भएको दाबी गरेका थिए । रूसी प्रशासनका अनुसार आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार राजधानीको उत्तरस्थित खिम्की क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने पोगोरेल्की गाउँमा एक पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा १२ जना घाइते भएको बताएका छन् ।

रूसी सेनाले ५५६ वटा ड्रोन खसालिएको दाबी गरेको छ । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनका शहरमाथि रूसले गरिरहेको घातक आक्रमणको जवाफस्वरूप यी कारबाही ‘पूर्ण रूपमा जायज’ रहेको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस