जेठ ३, काठमाडौं । जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक बनेका छन् । गत जनवरीमा रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका अलोन्सोले चेल्सीमा चार बर्षको सम्झौता गरेको क्लबले औपचारिक जानकारी दिएको छ ।

चेल्सीसँग सम्झौता गरेपछि ओलोन्सोले भनेका छन्- ‘क्लबको स्वामित्व समूह र खेल नेतृत्वसँग भएका मेरा छलफलबाट हाम्रो लक्ष्य एउटै रहेको स्पष्ट भएको छ । हामी निरन्तर उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्ने र उपाधिका लागि लड्न सक्षम टोली निर्माण गर्न चाहन्छौं ।
यो टोलीमा उत्कृष्ट प्रतिभा छ र क्लबभित्र ठूलो सम्भावना पनि रहेको छ । यस्तो क्लबको नेतृत्व गर्न पाउनु मेरा लागि ठूलो सम्मानको विषय हो । अब हाम्रो ध्यान कडा मेहनत, सही संस्कृतिको निर्माण र उपाधि जित्ने लक्ष्यमा केन्द्रित हुनेछ ।’
उनले चेल्सीमा २०३० को जुनसम्मका लागि सम्झौता गरेका छन् । उनको सम्झौता जुलाई १ देखि शुरु हुने क्लबले जानकारी दिएको छ ।
अलोन्सोले यसअघि रियल म्याड्रिड र बायर लिभरकुसनको प्रशिक्षक बनेका थिए । रियल म्याड्रिडमा उनको कार्यकाल सफल नभए पनि लिभरकुसनमा भने उनले टिमलाई जर्मन लिग, डिएफबी पोकाल र डिएफएल सुपर कपको उपाधि जिताएका थिए ।
४४ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सोले आफ्नो खेल जीवनको ६ बर्ष लिभरपुल र ६ बर्ष रियल म्याड्रिडमा बिताएका थिए । उनले ३ बर्ष बायर्न म्युनिखमा खेलेपछि सन्यास लिदै प्रशिक्षणतर्फ लागेका थिए । खेलाडीको रुपमा उनले स्पेनको राष्ट्रिय टिमबाट भने २००३ देखि २०१४ सम्म ११४ खेल खेलेका थिए । उनी स्पेनले २०१० को विश्व्कप तथा २००८ र २०१२ को युरोकप जित्दा टिमको महत्वपूर्ण सदस्य थिए ।