• २०८३ बैशाख ४ गते शुक्रवार

चलचित्र ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ४, काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले रिलिज मिति घोषणा गरेको छ । ‘पाँच पाण्डव’ आगामी तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सहल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वात छौं ।’

चलचित्र वितरणको जिम्मा लिएका आरआर फिल्मस्का रोहित कट्टेलले ‘पाँच पाण्डव’लाई लिएर आफूहरू निकै उत्साहित रहेको बताएका छन् । विषय, कलाकार, निर्माण टिक र प्राविधिक पक्ष बलियो बनाउने तयारीका कारण यो सिनेमा प्रतिक्षित पनि बनेको छ ।

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायत मुख्य भूमिका रहने छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूले एकसाथ काम गरिरहेका छन् ।

चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ भने बाँकी छायाकंन काठमाडौं उपत्यकाका स्थानमा खिचिने निर्माण टिमको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस