फागुन ५, गण्डकी। मादकपदार्थ सेवन गरी स्कुल बस चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालयले आज थप पाँचजना चालकलाई नियन्त्रणमा लिएको छ । यसअघि सोमबार मापसे गरी पोखरामा स्कुल बस चलाउने पाँच चालकलाई नियन्त्रणमा लिएको थियो ।

आज बिहान ट्राफिक प्रहरीसहितको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने रत्नज्योति बोर्डिङ स्कुलको ग १ क ५९६२ नं.का बस चालक ४२ वर्षीय गोविन्द क्षेत्री र केइएफ सेकेण्डरी स्कुलको ग १ क ४७३६ नं का बस चालक ४५ वर्षीय सर्वजित रेग्मीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी गुरुकुल विद्यासदन बोर्डिङ स्कुलको ग १ क १९५७ नं का बस चालक ४७ वर्षीय दलबहादुर सुनार, इमानुयल बोर्डिङ स्कुलको ग १ क ५००८ नं का बस चालक ४७ वर्षीय मनबहादुर तामाङ र गण्डकी बोर्डिङ स्कुलको ग १ क ६६२३ नं का बस चालक ३० वर्षीय रोनिश खनाललाई मादकपदार्थ सेवन गरी बस चलाइरहेको अवस्थामा पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सोही आरोपमा प्रहरीले सोमबार माउण्ट हेवन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं का बस चालक ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नं का बस चालक ३७ वर्षीय गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नं का बस चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलको ग १ क ६४३ नं का बस चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलको ग १ क ६४३३ नं का बस चालक ४७ वर्षीय पदम विकलाई पक्राउ गरेको थियो ।
मापसे गरी स्कुल बस चलाउने चालकलाई कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालकमाथि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ बस्नेतले बताउनुभयो ।