• २०८३ जेष्ठ ३ गते आइतवार

हुम्ला जिल्ला प्रशासन घेराउ, सेवा सुविधा थोरै भएको भन्दै निर्वाचन प्रहरीहरूको प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ५, हुम्ला। सेवा सुविधामा असन्तुष्टि जनाउँदै हुम्ला जिल्लामा खटिएका निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्। उनीहरू प्रशासन कार्यालय अगाडि भेला भएर आफूहरूलाई पहिले भनिएको भन्दा कम पारिश्रमिक दिन लागिएको भन्दै विरोधमा उत्रिएका हुन्।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा सुविधासम्बन्धी विषय उठाएर प्रदर्शन गरिरहेको र त्यसबारे प्रशासनले बुझ्ने काम भइरहेको बताएका छन्।

‘म निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘निर्वाचन प्रहरीहरूको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको छ।’

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानसरह प्रतिदिन ८६९.४० रुपैयाँका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ।

यसैगरी, मतदानको दिनको अघिपछि गरी चार दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ३०० रुपैयाँका दरले १ हजार २०० रुपैयाँ खाजा खर्चसमेत उपलब्ध गराइने बताइएको छ।

हिमाली क्षेत्रमा खटिने निर्वाचन प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही बढी सुविधा पाउने व्यवस्था छ। फरक सुविधाअनुसार हिमाली क्षेत्रमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५७० रुपैयाँ, पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ हुने बताइएको छ।

तर हुम्लाका निर्वाचन प्रहरीहरूले पहिले जानकारी गराइएको भन्दा कम तलब दिन लागिएको भन्ने सूचना पाएपछि आन्दोलनमा उत्रिएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी रेग्मीले भने नियम–कानुनअनुसार नै सेवा सुविधा उपलब्ध गराइने स्पष्ट पार्दै ‘केही गलत बुझाइ (मिसअन्डरस्ट्यान्डिङ) का कारण उनीहरू आन्दोलित भएका हुनसक्छन्’ बताएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस