असाेज ३०, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन हुने भएको छ । सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।

नेपालमा सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन् ।