• २०८३ भाद्र ३१ गते बुधवार

स्वास्थ्य बिमा प्रभावकारी नहुँदा सर्वसाधारणले उपचारमा सास्ती खेप्नुपरेको छ : बलावती शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३१, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारणले अस्पतालमा उपचारका लागि लामो समयसम्म लाइन बस्नुपर्ने र विभिन्न समस्या भोग्नुपरेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले पछिल्लो उदाहरणका रूपमा बबिता पासवानको घटनालाई उल्लेख गरिन् । उनले संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको उल्लेख गर्दै कानुनी व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन् ।

‘सरकारले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नबनाउँदा आज सर्वसाधारण जनताले अस्पतालमा उपचार गर्न नपाएर लामबद्ध र हैरानी खेप्नु परेको छ,’ उनले भनिन् । शर्माले आर्थिक अभावका कारण अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद् र लज्जाजनक भएको बताइन् । उनले रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो र भन्दै प्रश्न गरिन् ।

साथै गरिब तथा विपन्न नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक र सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको छ । के यो देखाउनका लागि मात्र हो? के रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो? सात सय रुपैयाँ नहुँदा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपर्ने विडम्बनापूर्ण स्थिति निकै दुःखदायी र देशका लागि लज्जाजनक होइन र ?’

यसैगरी शर्माले नेपालको परराष्ट्र नीति र कूटनीतिक भूमिकामाथि पनि प्रश्न उठाइन् । उनले छिमेकी मुलुकको निमन्त्रणामा नेपाल सहभागी हुन नसकेको विषयमा सरकारसँग जवाफ मागिन् ।

‘छिमेक नै भएको ब्रिक्सको निम्तोबाट नेपाल किन चुक्यो ? के यो सरकारको परराष्ट्र नीति र कूटनीतिक असफलता होइन र ?’ उनले प्रश्न गरिन् ।

उनले सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएर त्रिदेशीय साझेदारी विकासका विषयमा छलफल भएको स्मरण गर्दै अहिले शक्तिशाली भनिएको सरकारको उपस्थिति किन हुन नसकेको भन्ने प्रश्नसमेत गरिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस