भदौ ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने १८१ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार भदौ ३० गते २४ घण्टाको अवधिमा देशभर भएका विभिन्न सवारी दुर्घटनामा ठूलो जनधनको क्षति भएको हो। दुर्घटनामा सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ।

प्रहरीको तथ्यांकअनुसार मधेश प्रदेशमा मात्रै ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। त्यस्तै, बागमती प्रदेशमा ६ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ जनाको मृत्यु र २६ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु र २५ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा १ जनाको मृत्यु हुँदा १५ जना घाइते भएका छन्।
यस्तै, कर्णाली प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा ३८ जना र गण्डकी प्रदेशमा ५ जना घाइते भएका छन्। यी तीन प्रदेशमा भने सो अवधिमा सवारी दुर्घटनाबाट मृत्यु भएको विवरण छैन।
