असार ३२, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई नियुक्ति गरेको ६ महिनामै पदबाट हटाएका छन । यस निर्णयलगत्तै बिहीबार देशका विभिन्न सहरमा विरोध प्रदर्शनहरू भएका छन्, युद्ध सुरु भएयता भएका यस्ता प्रदर्शनहरूमध्ये यी पहिलो घटना हो ।

राजधानी किभमा ठूलो संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिए। ओडेसा, ल्भिभ र रुसको निरन्तर आक्रमणको सामना गरिरहेको सहर खार्किभमा पनि प्रदर्शनहरू भए। खार्किभमा ३०० भन्दा बढी मानिसहरू प्लेकार्ड बोकेर तथा ‘धिक्कार छ, धिक्कार छ’ भन्दै नारा लगाउँदै सडकमा उत्रिए।
३५ वर्षीय फेडोरोभलाई युक्रेनको ड्रोन युद्ध कार्यक्रमको सबैभन्दा प्रमुख अनुहार मानिन्थ्यो। उनी ड्रोन र रोबोटको प्रयोग गरी युद्ध लड्ने रणनीतिका मुख्य पक्षधरका रूपमा चिनिन्थे। उनको बहिर्गमनले रुसजस्तो विशाल सैन्य शक्ति विरुद्धको लडाइँमा नयाँ प्रविधि र ड्रोनमा आधारित युक्रेनको रणनीति पहिलेकै गतिमा अघि बढ्ला वा नबढ्ला भन्ने प्रश्न खडा गरेको छ।
फेदोरोभलाई पदबाट हटाउने निर्णय जेलेन्स्की सरकारमा गरिएको व्यापक हेरफेरको एक हिस्सा हो। यस हेरफेरमा प्रधानमन्त्रीलाई पनि पदबाट हटाइएको छ।
रक्षा मन्त्री बन्नु अघि फेदोरोभले युक्रेनको डिजिटल रूपान्तरण (ई–गभर्नेन्स) मन्त्रीका रूपमा काम गरेका थिए। उनी कैयौं वर्षसम्म जेलेन्स्कीका सबैभन्दा विश्वासिला प्रविधि सल्लाहकारसमेत रहेका थिए।
जनवरीमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हाले पछि उनले सेनाभित्र नयाँ प्रविधि, ड्रोन र रोबोटको प्रयोगलाई तीव्र रूपमा विस्तार गरेका थिए । यस अवधिमा, युक्रेनका लामो समयदेखि चलिरहेका कयौं ड्रोन परियोजनाहरूले सफल नतिजा दिन थाले। युक्रेनले रुसी भू भागभित्र सयौं किलोमिटरको दूरीसम्म पुग्ने गरी निरन्तर ड्रोन आक्रमणहरू गर्यो र कब्जा गरिएको क्रिमियामा रहेका रुसी सैन्य आपूर्ति मार्ग तथा आधारहरूलाई निशाना बनायो। यी सफलताहरूले युक्रेनका जनतामा नयाँ प्रविधि प्रयोग गरेर रुसको सामना गर्न सकिन्छ भन्ने आत्मविश्वास बढायो।
धेरै रिपोर्टहरूका अनुसार, रक्षामन्त्री फेडोरोभलाई हटाउनुको कारण भ्रष्टाचार वा असफलता थिएन, बरु शीर्ष सेनाका जनरलहरू र कमाण्डर इन चीफ ओलेक्जेन्डर सिरस्कीसँगको गहिरो असहमति थियो।
फेडोरोभ जनवरीमा रक्षामन्त्री बने पछि लगभग तुरुन्तै उनीहरूसँग झगडा गर्न थाले। उनको विश्वास थियो कि भविष्यको युद्ध ड्रोन, रोबोट र नयाँ प्रविधि प्रयोग गरेर लडिनेछ।
यद्यपि, सिर्स्कीले यो दृष्टिकोण पूर्णतया व्यावहारिक नभएको तर्क गरेका छन । उनको विश्वास थियो कि युद्ध जित्न अझै पनि सिपाहीहरूले अग्रपंक्तिमा लड्नु आवश्यक छ, युद्ध ड्रोनले मात्र जित्न सकिँदैन। जसका कारण दुई बीचको सञ्चार पनि बन्द भएको थियो।
कमाण्ड संरचना भित्रको यो झडप समाधान गर्न राष्ट्रपति जेलेन्स्कीले सेनाका जनरलहरूको पक्ष लिए र फेडोरोभलाई हटाउने निर्णय गरे।