• २०८३ भाद्र १८ गते बिहिवार

इजरायलले दिइने ३.३ अर्ब डलर रोक्न अमेरिकी संसदमा मतदान हुदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३२, काठमाडौं ।  इजरायललाई दिइने सैन्य सहायता रोक्ने प्रस्तावसहितको एउटा विधेयक अमेरिकी कंग्रेसमा पेस गरिएको छ। यस विधेयकले इजरायललाई वार्षिक रूपमा प्रदान गरिँदै आएको ३.३ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता रोक्न माग गरेको छ। अमेरिकाकी एकमात्र मुस्लिम कंग्रेस सदस्य इल्हान ओमरले इजरायललाई दिइने करिब ३.३ अर्ब डलर बराबरको सैन्य सहायता रोक्ने प्रस्तावको पक्षमा मतदान गर्ने बताएकी छिन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै ओमरले भनिन्, ‘नरसंहारकारी र रंगभेदी शासनलाई हामीले निरन्तर आर्थिक सहयोग गरिरहनु अतार्किक कुरा हो। यसको पक्षमा मतदान गर्नुहोस्।’ उल्लेखनीय छ कि अमेरिकी कंग्रेसमा भारतीय अमेरिकी सांसद रो खन्ना र डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका सदस्य थोमस मासीद्वारा दुवै दलको समर्थन रहेको द्विदलीय विधेयक प्रस्तुत गरिएको छ।

यस विधेयकको उद्देश्य इजरायलका लागि छुट्याइएको ३.३ अर्ब अमेरिकन डलर बराबरको सैन्य सहायता रोक्नु हो। संसदमा यो विधेयक पेस गरिए सँगै अमेरिकी राजनीतिमा हलचल मच्चिएको छ । कतिपय सांसदहरूले यसको समर्थन गरेका छन् भने अन्यले यसको विरोध गरेका छन्।

यो प्रस्ताव अमेरिकी कंग्रेसमा देशका आगामी विदेशी गतिविधिहरू र विदेश मन्त्रालयको बजेटसम्बन्धी विधेयकको संशोधनका रूपमा पेस गरिएको हो।
यस संशोधनको मुख्य उद्देश्य इजरायललाई दिइने करिब ३.३ अर्ब डलर बराबरको वार्षिक अमेरिकी सैन्य सहायता पूर्ण रूपमा रोक्नु हो। यसमा ‘आयरन डोम’जस्ता हवाई प्रतिरक्षा प्रणालीका लागि उपलब्ध गराइने रकम पनि समावेश छ।

यो प्रस्ताव कुनै एक दलले नभई दुवै दलका सांसदहरूले संयुक्त रूपमा पेस गरेका हुन्। यसको मस्यौदा रिपब्लिकन थोमस मासी र डेमोक्र्याट रो खन्नाले तयार पारेका हुन्। भारतीय मूलका डेमोक्र्याट सांसद रो खन्नाले नागरिक अधिकार र युद्ध अपराधसम्बन्धी मुद्दाहरूमा आवाज उठाउँदै यस प्रस्तावको समर्थन गरेका छन्। जसलाई डेमोक्रेटिक पार्टीकी सांसद इल्हान ओमरले सामाजिक सञ्जाल एक्समार्फत उक्त प्रस्तावको पक्षमा मतदान गर्ने घोषणा गरिन्।

इजरायललाई दिइने सैन्य सहायता रोक्नका लागि ल्याइएको यो प्रस्तावले संसद्मा डेमोक्रेटिक पार्टीलाई विभाजित गरेको छ। डेमोक्रेटिक नेता तथा तल्लो सदन मा विपक्षी दलका नेता हाकिम जेफ्रिजले यस प्रस्तावको विरोध गरेका छन्। उनको तर्क छ कि यो प्रस्ताव निकै व्यापक प्रकृतिको छ र यसले इजरायलको सुरक्षाका साथै गाजामा मानवीय सहायताको आपूर्ति र दूतावासहरूको कामकाजमा समेत असर पार्न सक्छ।

जेफ्रिज स्वयं यसको विपक्षमा भए तापनि उनले आफ्ना दलका सांसदहरूलाई आफ्नो अन्तर्आत्माको आवाज अनुसार मतदान गर्ने अनुमति दिएका छन्, जसले गर्दा दलभित्रको आन्तरिक विभाजन छताछुल्ल भएको छ। इजरायललाई दिइने सैन्य सहायता रोक्ने सम्बन्धी यो संशोधन प्रस्तावमाथि अमेरिकी कंग्रेसमा जुलाई १५ मा मतदान हुने कार्यक्रम रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस