वैशाख ३, काठमाडौं । चीनले इरानसँग होर्मुज जलडमरूमध्य खोल्न आग्रह गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग सामान्य आवागमन पुनः सञ्चालन गर्न पहल गर्न अनुरोध गरेका हुन् ।

वाङ यीले इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान आवश्यक रहेको उल्लेख गर्दै उक्त समुद्री मार्गमा आवागमनको स्वतन्त्रता र सुरक्षाको सुनिश्चितता पनि उत्तिकै महत्वपूर्ण भएको बताएका छन् । उनले यो मार्ग खुला राख्नु सबै देशको हितमा रहेको धारणा व्यक्त गरेका छन् ।
उनका अनुसार चीन युद्धविराम कायम राख्न र वार्ता पुनः सुरु गर्न समर्थन गर्दछ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य सधैंका लागि खुला बनाउने दाबी गरेका थिए । सामाजिक सञ्जालमार्फत उनले चीनसहित विश्वका लागि आफूले यस्तो पहल गरेको उल्लेख गरेका छन् ।
होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो । सामान्य अवस्थामा यहाँबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गर्छ । तर गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलको आक्रमणपछि इरानले उक्त मार्गमा नाकाबन्दी गरेपछि अवस्था तनावपूर्ण बनेको छ ।
यस मार्ग बन्द हुँदा विश्वभर ऊर्जा आपूर्तिमा समस्या देखिएको छ र तेल तथा ग्यासको मूल्य बढेको छ । विज्ञहरूले आगामी दिनमा ऊर्जा आपूर्तिमा अझ गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।