वैशाख ३, तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन् । ऋषिङ –५ र ७ जोड्ने फलामे र ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल बनेका हुन् । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले औपचारिक रूपमा दुवै पुलको शुभारम्भ गर्नुहुँदै यसले स्थानीय विकासमा दीर्घकालीन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

ऋषिङ–५ का वडाध्यक्ष बुद्धिमान रानामगरले एनजिओ नेटवर्क तनहुँमार्फत दुई वटा पुल निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार फलामे पुलको लागत रु ३२ लाख र झोलुङ्गे पुलको लागत रु ३४ लाख रहेको छ ।
एनजिओ नेटवर्क तनहुँका महासचिव राजेश्वर हड्खलेले पुल निर्माण पश्चात् विगतमा खोलानाला पार गर्दा भोग्नुपरेको जोखिम हट्ने र वर्षायाममा समेत सहज आवागमन हुने बताउनुभयो ।
यसअघि स्थानीयले खोलाखोल्सी पार गर्न जोखिमपूर्ण अस्थायी संरचना वा वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्दथ्यो । पुल सञ्चालनमा आएपछि गाउँबीचको दूरी घट्नुका साथै कृषि उत्पादन ओसारपसार, बजार पहुँच, स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधिमा सहजता आउने उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर थापाले जानकारी दिनुभयो ।