• २०८३ भाद्र ३० गते मङ्गलवार

पर्यटन विधेयक पुनर्लेखनको चरणमा जान सक्छ : पर्यटनमन्त्री पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

भदौ ३०, काठमाडौं ।  ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले ऐनलाई चुस्तदुरुस्त बनाउँदै नियमावलीलाई समयअनुकूल र लचिलो बनाउनुपर्ने बताएका छन् । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्दै मन्त्री पौडेलले पर्यटन विधेयकमा अझै धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘नियमावलीहरुमा राम्रा विषयहरु धेरै आएका छन्, ऐनलाई चुस्तदुरुस्त बनाऔं । नियम कानुनहरु जति फ्‌ल्यक्जिवल भयो समय अनुकुल फेरिरहनुनपर्ने भयो भने त्यति नै सजिलो हुन्छ । ऐन बनाएपछि त्यसलाई फेर्न गाह्रो हुन्छ ।’ मन्त्री पौडेलले पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको भए पनि समयअनुकूल धेरै विषय थप्नुपर्ने र सच्याउनुपर्ने भएकाले पुनर्लेखनको चरणमा जान सक्ने बताए ।

‘पर्यटन विधेयक माथि हामीले धेरै नै काम गर्नुपर्ने छ । सभापति ज्यूसँग र सम्बन्धित साथिहरुसँग मैले निकै नै होमवर्क गरिरहेको छु । किनकी यो राष्ट्रिय सभाबाट पारित भएर आएको र यसमा समयानुकुल थप्नुपर्ने धेरै चिजहरु छन् । र सच्याउन पर्ने धेरै भएकाले पुर्नलेखनको चरणबाट गुज्रिन सक्ने अवस्था छ । त्यसकारण सम्बन्धित निकायसँगको गहन छलफल अझै गर्दै जानुपर्छ,’ उनले भने ।

मन्त्री पौडेलले केही समयअघि ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आएको र उनीहरूले भारतीय रुपैयाँ बोकेर आउँदा त्यसको सटहीमा समस्या देखिएको बताए । उनले मुस्ताङ, मनाङ, मुक्तिनाथ र पोखराजस्ता क्षेत्रमा भारतीय पर्यटकको ठूलो उपस्थिति रहेको उल्लेख गर्दै व्यवसायीले पर्यटकबाट लिएको रकम सटही गर्न नसक्दा समस्या भएको बताए ।

उनले भने, ‘केही समय पहिले भारतीय पर्यटनहरुको बाढी जस्तो आएको थियो । मुस्ताङ, मनाङ, मुक्तिनाथ, पोखरा जस्तो क्षेत्रामा ठुलो संख्यामा थियो र भारतीय पर्यटकहरुले ठूलो मात्रामा त्यताको पैसा बोकेर आउनुभयो र हाम्रो व्यवसायी साथिहरुले लिइदिनुभयो र त्यसपछि त्यसको सटही हुन नसक्ने समस्या जटिल भएर गएपछि सम्मानीय ज्यूसँग म आफैले समन्वय गरेर कम्तिमा सटही गर्ने अवसर त दिनुपर्यो नत्र त गैरकानुनी जस्तो भयो यो ।’

उनले पर्यटकले होटल, सामान र खानामा खर्च गरेको रकमसमेत सटही गर्न नपाउने अवस्था देखिनु व्यावहारिक नभएको बताए ।

‘आफूसँग पैसा छ, सामान बेचेर, कोठम बेचेर, खानेकुरा बेचेरै गरेको तर गैरकानुनी जस्तो भयो भने पछि केही न केही उपायहरु लगाएर अस्थायीरुपमा सल्टाउने प्रयास गरेको हो । यसलाई स्थायीरुपमा पनि केही न केही गर्नै पर्छ जस्तो मलाई लाग्छ,’ उनले भने ।

बैठकमा क्यासिनो व्यवसायी बलराम सापकोटाले नेपालमा क्यासिनो सञ्चालनका लागि स्पष्ट र समान मापदण्ड बनाउनुपर्ने माग गरे । उनले क्यासिनोले कम्तीमा ३ सयदेखि ५ सय जनासम्मलाई रोजगारी दिन सक्ने व्यवस्था हुनुपर्ने बताए ।

उनले भने, ‘क्यासिनोले कम्तिमा ३ सय देखी ५ सयसम्मको रोजगारी दिनुपर्यो। ४ हजारमा क्यासिनो खोल्न दिएको छ, ४० हजारमा क्यासिनो खोल्न दिनुर्यो क्या अनि त्यसको रोजगारी दिन सक्छ । त्यहाँ मार्केटिङको व्यवस्था होला । देशले गर्न नसकेको मार्केटिङ मैले गर्छुहोला त्यो हिसावले कानुन बन्नुपर्यो।’

सापकोटाले क्यासिनोलाई मिनी र ठूलो भनेर विभाजन गर्न नहुने भन्दै सबै क्यासिनोलाई एउटै स्तरमा राखेर समान व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘जुवा खेल्नेमा पनि मिनि, ठूलो भन्ने के हो ? सिंगापुर, मलेसिया, श्रीलङ्का, अस्ट्रेलियामा पनि मिनि ठूलो भन्ने देख्दिन यही नेपालमा मात्र छ ठूलो, सानो । क्यासिनो एउटै लेवलको हुनुपर्छ । सबैलाई एउटै फिक्स हुनुपर्छ । जुवा खेल्ने पनि सानो ठूलो के चाहियो म यसको पक्षमा छैन ।’ उनले नेपालमा सञ्चालनमा रहेका साना क्यासिनोलाई मर्जरमा जान सक्ने व्यवस्था गर्नुपर्ने मागसमेत गरे ।

‘मर्जरको नीति ल्याउनु पर्यो । तपाईहरु सबै मिलेर मर्जर गर्नुस् । सानो भनिनेहरुले मर्जर गर्नुपर्यो । बैंक मर्जर गर्न हुने, हेलिकप्टर मर्जर गर्न हुने क्यासिनो मर्जर गर्न के फरक छ । मिल्नु पर्यो नि व्यवसाय गर्न । पैसा छैन भने सबै मिलेर ठूलो बनाउन पर्यो,’ उनले भने ।

सापकोटाले नेपालमा क्यासिनोको स्तर सुधार गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने बताए । ‘यो राष्ट्रको लागि पनि क्यासिनो भनेको क्यासिनो जस्तो हुनुपर्यो । एकपटक भिजिट गर्यौ सिंगापुर, मलेसिया, श्रीलङ्का, अस्ट्रेलियामा । नजिको भारत गए पनि भयो क्यासिनो भनेको कस्तो हुदो रहेछ हामी पनि देखाउन चाहान्छौ । हेरेपछि थाहा हुन्छ क्यासिनो कस्तो हुन्छ,’ उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस