• २०८३ भाद्र ३० गते मङ्गलवार

एसियाली खेलकुद: उत्तर कोरियाली महिला टोलीकाे १०-१ काे जीतसहित सानदार सुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३०, काठमाडौं । जापानको ओसाकामा प्योङयाङ समर्थक सयौँ दर्शकहरूको उत्साहजनक उपस्थितिबिच उत्तर कोरियाको सशक्त महिला फुटबल टोलीले एसियाली खेलकुदमा विजयी सुरुवात गरेको छ। सोमबार भएको एकपक्षीय खेलमा उत्तर कोरियाले बंगलादेशलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो।

युवा स्तरमा उत्कृष्ट अन्तर्राष्ट्रिय सफलता हासिल गरिसकेको उत्तर कोरियाली टोलीलाई जापानमा जारी यस प्रतियोगितामा स्वर्ण पदकको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। खेलको सुरुदेखि नै दबदबा बनाएको उत्तर कोरियाविरुद्ध बंगलादेशी टोली निरिह देखियो। उत्तर कोरियाले पहिलो हाफको समाप्तिसम्ममै ७-० को फराकिलो अग्रता बनाइसकेको थियो। जापानमै जन्मिएकी र हुर्केकी स्ट्राइकर री सोङ-आ उत्तर कोरियाको ‘स्टार्टिङ इलाभेन’ (सुरुवाती टोली) मा समावेश थिइन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हाफमा टोलीका लागि गोल थपेकी थिइन्।

रातो पोसाकमा सजिएका समर्थकहरूले खेल अवधिभर गीत गाउँदै र नारा लगाउँदै उत्तर कोरियाली टोलीको हौसला बढाएका थिए। गत हप्ता सेतो ब्लेजर र गुलाबी टाईमा सजिएर खेलका लागि आइपुग्दा पनि पुरुष तथा महिला फुटबल टोलीलाई झन्डा हल्लाउँदै समर्थकहरूले भव्य स्वागत गरेका थिए। नागोया-आइचीमा आयोजना हुने र सेप्टेम्बर १९ देखि औपचारिक रूपमा सुरु हुने यस एसियाली खेलकुदमा १४ वटा विधाका १०० भन्दा बढी उत्तर कोरियाली खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन्।

कोभिड-१९ महामारीका बेला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूबाट बाहिरिएको उत्तर कोरिया सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदबाट पुनः अन्तर्राष्ट्रिय मञ्चमा फर्किएको थियो। त्यसपछि उसले पेरिस ओलम्पिकमा पनि सहभागिता जनाइसकेको छ।

प्रतियोगिताअन्तर्गत ‘ग्रुप एफ’ मा रहेको उत्तर कोरियाली महिला टोलीले सेप्टेम्बर २१ मा चिरप्रतिद्वन्द्वी दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यस्तै, पुरुष टोलीले भने बुधबार चीनविरुद्ध खेल्दै आफ्नो अभियानको सुरुवात गर्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस