• २०८३ साउन ३० गते शनिवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २३ मिनेट

साउन ३०, काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गर्दै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्ने बताका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर उनले सूर्यगढी गाउँपालिका–२ का राम्चे भिर, रातामाटे र पहरेथोकलगायत क्षेत्रको निरीक्षण गरेका हुन् । पहिरोका कारण पहरेथोक, फट्पुर, सेमराङलगायत बस्ती जोखिममा रहेको जनाइएको छ । मन्त्री तिमिल्सिनाले जोखिमयुक्त बस्तीको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले तत्काल अस्थायी आवास, राहत र सुरक्षित आवतजावतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । पहिरोका कारण सडक तथा विद्युत् संरचनामा पुगेको क्षति पनि उनले निरीक्षण गरे । अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन, विद्युत्का क्षतिग्रस्त संरचना मर्मत गर्न तथा जोखिमयुक्त क्षेत्रमा वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरे । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गरिएको छ। थप भूगर्भीय अध्ययनपछि दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । मन्त्री तिमिल्सिनाले दुप्चेश्वर गाउँपालिका–३ सरमथलीको पहिरो क्षेत्रको समेत निरीक्षण गरेका छन् । उनले तादी गाउँपालिका–३ अल्छेढुङ्गना र शिवपुरी गाउँपालिका–६ अखौलीका पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । स्थानीयले सडक, विद्युत्, दूरसञ्चार, पहिरो नियन्त्रण तथा सुरक्षित बस्ती व्यवस्थापनमा ध्यान दिन माग गरेका छन् ।

२- एपिएफका क्षितिज खनाल र एपिएफकै प्रिन्स दाहाल लिनिङ्ग १४ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को शिर्ष ८ बरियता पुरुष एकलको फाईनलमा प्रवेश गरेका छन् । आज सम्पन्न सेमिफाईनलमा क्षितिजले पिस फिटनेश क्लबका बिष्णु कटुवाललाई १८–२१, २१–७, २२–२० ले पराजित गर्दै उपाधी नजिक पुगेका हुन् । अर्को प्रतिस्पर्धामा नम्बर एक खेलाडी एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन विच भएको प्रतिस्पर्धामा प्रिन्सले २२–२४, २१–१४, २१–१२ को जित हात पार्दै उपाधीका लागि क्षिजित संगको भेट पक्का गरेका हुन् । क्षितिजले लिगको पहिलो खेलमा प्रिन्सलाई पराजित गरेका थिए । प्रिन्सलाई फाईनलमा त्यसको बदला लिने अवसर जुरेको छ । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला शिर्ष ८ एकल प्रतिस्पर्धामा नेपाल नम्बर एक आर्मीकी रसिला महर्जन फाईनल प्रवेश गरिन् । फाईनल प्रवेश गर्ने क्रममा रसिलाले नेपाल पुलिसकी निता लम्साल माथि २१–१३ , २१–१३ को जित निकालिन् । अर्को खेलाम पुलिसकी शेस्ना श्रीपालीले एपिएफकी रिहाना सेरचनलाई पराजित गर्दै उपाधीका लागि रसिला संगको भेट पक्का गरिन् । शेस्नाले रिहाना माथि २१–१६, २१–१८ को जित निकालेकी हुन् ।

३- मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक जाँच चौकीबाट शङ्कास्पद कन्टेनरसहित आठ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कन्टेनर र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ । शनिबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोम पर्यटक जाँच चौकीमा विभिन्न कन्टेनरका कागजपत्र जाँच गर्नुका साथै चालकसँग सोधपुछ गरेको थियो । जाँचका क्रममा ती कन्टेनर भन्सार यार्डमा चेकजाँच नगराई सिधै सिल लगाएर ल्याइएको पाइएपछि कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशङ्का गरिएको थियो। त्यसपछि प्रहरीले आठवटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका कन्टेनरमा ना ६ ख ४७४१ का चालक धादिङको धार्के गाउँपालिका–२ का करिब ३० वर्षीय ईश्वर थापा, को १ ख ५६९६ का चालक दोलखाको शैलुङ गाउँपालिका–३ का करिब ४३ वर्षीय रत्नबहादुर तामाङ र बा प्र ०१–००६ ख २२४८ का चालक दोलखाको भीमेश्वर नगरपालिका–८ का करिब २९ वर्षीय उद्दव बस्नेत रहेका छन्। त्यस्तै, बा प्र ०१–००६ ख ६२७३ का चालक पाल्पाको तानसेन नगरपालिका–८ का करिब ३६ वर्षीय धर्मबहादुर नेपाली, ना ३ ख ७१६० का चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का करिब ३५ वर्षीय कर्म शेर्पा, ना ६ ख २०२२ का चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का करिब ३३ वर्षीय निरोज नेपाली रहेका छन् । बा प्र ०१–००६ ख ६६११ का चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का करिब २३ वर्षीय विशाल तामाङ र बा प्र ०१–००५ ख २२४५ का चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका करिब ३६ वर्षीय गोपाल श्रेष्ठ पनि नियन्त्रणमा परेका छन् । प्रहरीले नियन्त्रणमा लिइएका आठवटै कन्टेनर र चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाएको जनाएको छ। कन्टेनरभित्र के–कस्ता वस्तु रहेको छ भन्नेबारे राजस्व अनुसन्धान कार्यालयले थप जाँच तथा अनुसन्धान गर्नेछ ।

४- भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन उत्कृष्ट सुरुआत गरेको छ । श्रीलंकाको गालेमा सुरु भएको टेस्टको पहिलो दिन भारतले २ विकेट गुमाएर २८८ रन बनाएको छ । बर्षाले प्रभावित हुदा पहिलो दिन ७३ ओभरको खेल मात्र सम्भव भएको थियो । भारतका लागि देवदत्त पाडिकलले १३१ रनको शतकीय पारी खेल्दै अविजित रहेका छन् । यस्तै, ऋषव पन्त २७ रन बनाएर खेलिरहेका छन् । यसअघि ओपनर यशस्वी जयसवालले ३२ बनाएर रन आउट भएका थिए भने केएल राहुल ७७ रन बनाएर हर्ट भएका थिए । त्यस्तै कप्तान शुभमन गिल १६ रन बनाएर आउट भएका थिए । त्यसैगरी श्रीलंकाका बलर प्रबाथ जयसूर्याले एक विकेट लिएका थिए ।

५- गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ चीनको ग्वाङ्झाउमा सुरु भएको छ। ‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको हो । ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीमप्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका सचेतक तथा सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा गैरआवासीय नेपाली संघका संस्थापक र अग्रज नेतृत्वको सहभागिता रहेको छ । सम्मेलनमा नेपाल र एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप मजबुत बनाउने तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र अनुभव परिचालन गर्ने विषयमा छलफल हुनेछ । संघको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषय पनि सम्मेलनको प्रमुख प्राथमिकतामा रहेको छ । सम्मेलनमा व्यापार, लगानी तथा ढुवानी क्षेत्रमा रहेका अवसर, एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगारी तथा पुनःएकीकरण, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार र पर्यटन प्रवर्द्धनका विषयमा विभिन्न सत्र सञ्चालन हुनेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण, सीमापार मानव बेचबिखन नियन्त्रण तथा नेपालको लगानी र पर्यटन प्रवर्द्धनमा प्रवासी नेपालीको भूमिकाबारे पनि छलफल हुनेछ। गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयनलाई समेत विशेष प्राथमिकता दिइएको छ । महिला तथा युवा सत्रमा महिला उद्यमशीलता, नेतृत्व विकास तथा दोस्रो पुस्ताका नेपालीको पहिचान, सहभागिता र विश्वव्यापी सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। संघको संस्थागत पहिचान र प्रचारलाई थप बलियो बनाउँदै नयाँ पुस्तासँग जोड्ने विषयमा पनि छलफल गरिनेछ । सम्मेलनका विभिन्न सत्र सम्पन्न भएपछि आगामी १६ अगस्टमा ‘ग्वाङ्झाउ घोषणापत्र २०२६’ जारी गरिनेछ। घोषणापत्रमा सम्मेलनमा उठेका प्रमुख विषय, नीति र प्राथमिकता समेटेर नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष सुझाव र माग प्रस्तुत गरिनेछ । सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिका लागि चीनको गुआङ्डोङस्थित प्रसिद्ध गुलोङ्सिया प्राकृतिक क्षेत्रमा अवलोकन भ्रमणको कार्यक्रम राखिएको छ । सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा रहेका नेपाली समुदायबीचको एकता र सहकार्य थप मजबुत बनाउँदै नेपालको आर्थिक विकास, लगानी, पर्यटन, ज्ञान तथा सीप हस्तान्तरण र सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

६- इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पमा केही मानिस घाइते भएका छन् । भूकम्पपछि खोजी तथा उद्धार कार्य सुरु भएसँगै मृतकको सङ्ख्या बढिरहेको अधिकारीहरूले बताएका छन् । भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण विभिन्न क्षेत्रमा भवन तथा संरचनामा क्षति पुगेको छ । इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार भूकम्प स्थानीय समयअनुसार शनिबार बिहान ५ बज्नुअघि फ्लोरेस टापुमा गएको थियो । यसको केन्द्र १५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको केन्द्र जमिनको सतहको नजिक हुँदा त्यसको प्रभाव सामान्यतया बढी विनाशकारी हुने गर्छ । भूकम्प गएको क्षेत्रमा ६.१ रेक्टर स्केलको शक्तिशाली परकम्पसहित अन्य धेरै परकम्प महसुस गरिएको छ । परकम्पका कारण थप संरचनामा क्षति पुग्न सक्ने भन्दै उद्धार टोलीले खोजी कार्यलाई तीव्र बनाएका छन् । माउमेरे बन्दरगाहबाट सार्वजनिक भएको दृश्यमा अन्तरद्वीपीय पानीजहाज चढ्न प्रतीक्षा गरिरहेका यात्रुमाथि टर्मिनल भवनको कङ्क्रिटको ठूलो भाग खसेको देखिएको छ । पानीजहाजतर्फ जाने बाटो भत्किँदा केही यात्रु समुद्रमा खसेका थिए । इन्डोनेसिया भूकम्प र ज्वालामुखी गतिविधिका दृष्टिले जोखिमपूर्ण देश हो । तीन ठूला भूगर्भीय प्लेट एकआपसमा भेटिने क्षेत्रमा रहेको कारण त्यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले उल्लेख गरेको छ ।

७- नेपाली कांग्रेसको संस्थापन इतर समुहको जारी राष्ट्रिय भेलामा विभिन्न प्रस्ताव पेश गरिएको छ । नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाश शरण महतले आर्थिक प्रस्ताव र रमेश लेखकले पार्टीको क्रियाशिल सदस्यता सम्बन्धि प्रस्ताव पेश गरेका छन् । निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनकै कारण पार्टी अहिले कमजोर अवस्थामा पुगेको आरोप लगाएका छन् । निधिले प्रस्तुत गरेको प्रतिवेदनमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ८८ सिट जितेर पहिलो शक्ति बनेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधि र विधानविपरीत भएको र त्यसबाट पार्टीमा गम्भीर विभाजन उत्पन्न भएको दाबी गरेका छन् । प्रस्तावमा तत्कालीन महामन्त्रीद्वयबाट विधानविपरीत विशेष महाधिवेशन आयोजना गरी १४औँ महाधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिलाई हटाइएको आरोप लगाइएको छ । यसले पार्टीभित्र गम्भीर मतभेद बढाएको भन्दै विवाद तत्काल समाधान नभए कांग्रेस दुर्घटनामा पर्न सक्ने चेतावनी दिइएको छ । विशेष महाधिवेशनको मागका क्रममा केही महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको नक्कली हस्ताक्षर प्रयोग गरिएको आरोपसमेत प्रस्तावमा लगाइएको छ । निर्वाचनको समय नजिकिँदै गर्दा नेतृत्व परिवर्तन गरिएकाले पार्टीभित्रको विवाद थप गहिरिएको उल्लेख गर्दै नेतृत्व परिवर्तन नियमित र विधानसम्मत प्रक्रियाबाट हुनुपर्नेमा जोड दिइएको छ । प्रस्तावमा कांग्रेसभित्रको विवादलाई पार्टीको आन्तरिक विषय मात्रै नभई लोकतान्त्रिक व्यवस्थासँग समेत जोडिएको छ । मुलुकको राजनीति कठिन अवस्थामा रहेका बेला लोकतन्त्रप्रति प्रतिबद्ध पुरानो राजनीतिक दलभित्रको विग्रहले देशलाई नै असर पार्न सक्ने भन्दै नेतृत्वले तत्काल समझदारी कायम गर्नुपर्ने उल्लेख छ । भेलामा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वृद्धि र त्यसको लाभ सबै वर्ग, समुदाय तथा भूगोलका नागरिकसम्म पुर्‍याउने नीति आवश्यक रहेको बताएका छन् । महतले प्रस्तुत गरेको प्रस्तावमा कांग्रेसले प्रजातान्त्रिक समाजवादको मूल लक्ष्यलाई कायम राख्दै बदलिँदो समयअनुसार आर्थिक नीति परिमार्जन गर्नुपर्ने उल्लेख छ । निजी क्षेत्रलाई लगानीका लागि सहज वातावरण बनाउने, लगानीसम्बन्धी कानुनलाई सरल बनाउने र वित्तीय जरिवानामा केन्द्रित कानुनी व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, धितोका आधारमा मात्र कर्जा दिने परम्परागत अभ्यास परिवर्तन गरी उद्यमीलाई परियोजनाको सम्भावनाका आधारमा कर्जा उपलब्ध गराउने कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । त्यसैगरी नेता रमेश लेखकले पार्टी सदस्यता प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाउने प्रस्ताव अघि सारेका छन् । सदस्यता लिनेदेखि नवीकरण र अभिलेख राख्नेसम्मका कामलाई कम्प्युटर प्रणालीमा आधारित बनाउनुपर्ने उनको प्रस्ताव छ । लेखकले ३० वर्षभन्दा कम उमेरका युवालाई पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचित वा मनोनीत हुने अवसर दिनुपर्ने प्रस्ताव गरेका छन् । क्षेत्रीय प्रतिनिधि छनोट गर्दा भूगोलसँगै जनसङ्ख्यालाई आधार बनाउनुपर्ने र पार्टीका विभिन्न तहमा महिला तथा युवाको सहभागिता बढाउनुपर्ने उनको प्रस्ताव छ । विशेष महाधिवेशनसम्बन्धी विवाद दोहोरिन नदिन विधानमा स्पष्ट व्यवस्था गर्नुपर्ने पनि लेखकको प्रस्ताव छ । विशेष महाधिवेशन बोलाउन आवश्यक हस्ताक्षरको रुजु र प्रमाणीकरण कसरी गर्ने, कसले महाधिवेशन बोलाउने तथा त्यसको आयोजना कसरी गर्ने भन्ने विषयमा स्पष्ट कार्यविधि बनाउनुपर्ने उल्लेख छ । भेलामा पार्टीका विभिन्न तहका कार्यसमितिमा आवश्यकता अनुसार पदाधिकारीको सङ्ख्या बढाउन सकिने प्रस्ताव पनि अघि सारिएको छ । बढाइने पदमा महिला, युवा र सम्बन्धित क्षेत्रको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख छ । केन्द्रीय कार्यसमितिमा सभापतिले मनोनयन गर्ने सदस्यमध्ये २५ प्रतिशत स्थान समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, कानुनलगायत विभिन्न क्षेत्रका विज्ञलाई दिनुपर्ने प्रस्ताव गरिएको छ । समावेशी कोटाबाट हुने मनोनयन एक व्यक्तिलाई एकपटक मात्र गर्न पाउने व्यवस्था गर्नुपर्ने पनि प्रस्तावमा उल्लेख छ । त्यस्तै, केन्द्रीय कार्यसमितिमा उपसभापतिको सङ्ख्या बढाउने, महिलाको सहभागिता सुनिश्चित गर्ने र केन्द्रीय कार्यसमितिले एक जना वरिष्ठ उपसभापति नियुक्त गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत अघि सारिएको छ ।

८- देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगहरूको उपचारलाई व्यवस्थित र एकरुपता ल्याउन अहिलेसम्म जारी भएका मानक उपचार प्रोटोकल (एसटीपी)लाई स्वास्थ्य बीमासँग जोडेर कसरी प्रभावकारी ढंगले लागु गर्ने भन्ने विषयमा छलफल भयो । छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा पवनजंग रायमाझीसहित विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरु सहभागी थिए । उनीहरुले आ-आफ्नो क्षेत्रमा प्रयोग भइरहेको प्रोटोकल प्रयोगका सजिला अप्ठेरा पाटा केलाउँदै सुधारका लागि समेत सुझाव दिए । साथै, फरक फरक विभाग तथा महाशाखाले बनाउँदाखेरि प्रोटोकलमा समन्वयको अभाव भएकाले सो कुरा समाधान गरिनुपर्ने पनि बताए । डा. रायमाझीका अनुसार आवश्यकता हेरी अहिले १९ वटा प्रोटोकल बनाइएका छन्, जसमध्ये केहीमात्र स्वीकृत भएर लागू भइसकेका तथा कतिपय प्रक्रियामै रहेका छन् । लागू भएकाहरुमा पनि एकरुपता कायम गर्न समयानुकूल परिमार्जनको आवश्यकता छ । यस्तै, बिरामी परीक्षणकै क्रममा पनि डाक्टरले यसो गरे कसो होला भन्दै सीटी स्क्यान, एमआरआई लगायतका लागि अनावश्यक प्रिस्क्रिप्सन गरिदिने र त्यसले आर्थिक भार बिमा कार्यक्रममा थपिने भएकाले आवश्यकताको आधारमा मात्र परीक्षण गर्ने गरी निश्चित प्रोटोकल बनाउन आवश्यक रहेको र त्यसका लागि पनि छलफल प्रभावकारी हुने उनको भनाइ छ । प्रोटोकलको परिमार्जनसहित प्रभावकारी प्रयोगले अनावश्यक परीक्षण र महँगा औषधिहरू कटौती हुने भएकाले बिरामीको उपचार खर्च घट्ने र सरकारी कोषको दुरुपयोग रोकिनुका साथै सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई समेत व्यवस्थित बनाउन सहज पुग्ने विश्वास गरिएको छ ।

९- नेपाल भलिबल लिग (एनभीएल) को मिति तय गरिएको छ । एनभीएल आउँदो भदौ १९ देखि २७ गते अर्थात सेप्टेम्बर ४ देखि १२ सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने भएको हो । नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । जसमा मधेश वारियर, सगरमाथा स्माशर, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर्स किंग्स, खप्तड फाल्कन्स र कर्णाली शिवराज रहेका छन् ।

१०- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगेका छन् । इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी बिमानस्थलमा अवतरण गरी स्थलमार्ग मार्फत उनी इलाम प्रस्थान गरेका हुन् । उनी आज इलाममै बस्ने र भोलि बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ ।

११- अभिनेता रणवीर कपुर अभिनीत चलचित्र ‘रामायण’ चीनमा पनि प्रदर्शन हुने भएको छ । निर्देशक नितेश तिवारीको यो चलचित्र चीनमा फरक नामबाट प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ । करिब एक दशकअघि नितेश तिवारीकै ‘दंगल’ ले चिनियाँ दर्शकमाझ राम्रो प्रभाव पारेपछि ‘रामायण’ ले पनि चीनको ठूलो चलचित्र बजारमा प्रवेश गर्न लागेको हो । चीनमा चलचित्रको नाम ‘द लेजेन्ड अफ प्रिन्स’ राखिने सम्भावना रहेको चर्चा चलेको छ। चीनमा चलचित्र वितरणको जिम्मेवारी सोनी पिक्चर्सले लिने अपेक्षा गरिएको छ । चलचित्र निर्माण पक्षले चीनमा प्रदर्शनअघि प्रचारप्रसारका कार्यक्रमसमेत गर्ने तयारी गरेको बताइएको छ । निर्देशक नितेश तिवारी र निर्माता नमित मल्होत्राले सेप्टेम्बर २४ मा पिङयाओ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पत्रकार सम्मेलन तथा चलचित्र प्रदर्शन गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताइएको छ । त्यसपछि अक्टोबर १ देखि सुरु हुने चीनको स्वर्णिम साता अवधिमा विभिन्न सहरमा प्रचार कार्यक्रम गर्ने तयारी रहेको जनाइएको छ । ‘रामायण’ को अन्तर्राष्ट्रिय प्रदर्शन नोभेम्बर ६ का लागि तय गरिएको छ भने भारतमा नोभेम्बर ८ अर्थात् दीपावलीको आसपास प्रदर्शन गर्ने तयारी छ । अन्तर्राष्ट्रिय र भारतमा फरक मितिमा प्रदर्शन गर्नुको कारणबारे निर्माता नमित मल्होत्राले अन्तर्राष्ट्रिय बजारमा शुक्रबार चलचित्र प्रदर्शन गर्ने चलनअनुसार नोभेम्बर ६ रोजिएको र भारतमा दीपावलीलाई लक्षित गरिएको बताएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसले दर्शकमाझ ठूलो चासो सिर्जना गरेको छ । केही दर्शकले चलचित्रको भव्यता र द्वन्द्वका दृश्यको प्रशंसा गरेका छन् भने केहीले कम्प्युटरबाट तयार गरिएका दृश्यको गुणस्तरमाथि प्रश्न उठाएका छन्। रणवीरले चलचित्रका दृश्यलाई कृत्रिम बुद्धिमत्ताबाट बनाइएको भन्दै गरिएको टिप्पणीलाई लिएर प्रतिक्रिया दिँदै यस्तो आलोचना केही रमाइलो लागेको बताएका छन् । उनले चलचित्रमा कलाकार तथा प्राविधिक टोलीले धेरै वर्षदेखि गरेको मेहनततर्फ पनि ध्यानाकर्षण गराएका छन् । नितेश तिवारीको निर्देशनमा बन्न लागेको ‘रामायण’ महर्षि वाल्मीकि रचित महाकाव्यमा आधारित दुई भागको चलचित्र हो । रणवीर कपुरले भगवान् राम, यशले रावण र साई पल्लवीले सीताको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा सनी देओल, रवि दुबे, अरुण गोविल, लारा दत्ता, रकुल प्रीत सिंह, विवेक ओबेरोय र कुणाल कपुरलगायत कलाकारको पनि अभिनय रहेको छ । यसको दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

१२- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १५१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १६ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ४७ जना, सुदूरपश्चिममा ११ जना, गण्डकीमा ३ जना र कर्णालीमा १० जना घाइते भएका छन् ।

१३- नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको विद्युतीय भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब ८: २५ बजे बा १ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा ३–००१ ज ११७६ नम्बरको खाली विद्युतीय भ्यानलाई ठक्कर दिएको थियो । ठक्करपछि बस र भ्यान सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए । दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन् । दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की करिब २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की करिब ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की करिब ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् । तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

१४- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढी हो । नेपाल टेलिकमको चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो । यस वर्ष सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो। कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ । कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधन अघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा यो १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढी हो। त्यस्तै, कर अघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कर अघिको मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यसमा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ । कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ। तर, मोबाइल सेवातर्फको आम्दानी ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेका कारण कुल आम्दानी वृद्धि भएको हो । नेपाल टेलिकमले बढी लागत लाग्ने र प्रतिफल कम हुने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कामलाई निरन्तरता दिइरहेको जनाएको छ । कम्पनीले देशभर सञ्चार सेवा विस्तार गर्ने जिम्मेवारीअनुसार यस्ता क्षेत्रमा समेत सेवा पुर्‍याउँदै आएको बताएको छ ।

१५- प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीच रहँदै आएको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको आत्मीय सम्बन्ध तथा आपसी सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् । भारतले आज आफ्नो ८०औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।

१६- इङ्लिस क्लब लिभरपुलका मालिक फेनवे स्पोर्ट्स ग्रुपले क्लबको ३० प्रतिशत स्वामित्व अर्बपति जेफ बेजोससहितको लगानी समूहलाई बिक्री गर्ने सम्झौता गरेको छ । फेनवे स्पोर्ट्स ग्रुपले १८९२ होल्डिङ्ससँग क्लबमा ‘रणनीतिक अल्पमत लगानी’ बिक्री गर्ने अन्तिम सम्झौता भएको पुष्टि गरेको हो । १८९२ होल्डिङ्सको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरेका छन् । समूहमा सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक तथा अर्बपति एडुआर्डो सेभरिन पनि सहभागी छन् । सम्झौता नियामकीय स्वीकृतिको अधीनमा रहेको छ । स्वीकृति प्राप्त भएपछि अमित भाटिया लिभरपुलको उपाध्यक्ष बन्नेछन् र क्लबको विस्तारित सञ्चालक समितिमा पनि सहभागी हुनेछन् । भारतीय अर्बपति व्यवसायी लक्ष्मी मित्तलका ज्वाइँ भाटियाले यसअघि क्विन्स पार्क रेन्जर्स क्लबमा १८ वर्षसम्म सञ्चालक र सहमालिकका रूपमा काम गरेका थिए । उनले गत महिना उक्त क्लबमा रहेको आफ्नो हिस्सा बिक्री गरेका थिए । अमेरिकी व्यवसायी जेफ बेजोस विश्वकै धनी व्यक्तिमध्ये एक हुन् । विद्युतीय व्यापार कम्पनी अमेजनका संस्थापक बेजोसको अनुमानित सम्पत्ति २५६ अर्ब अमेरिकी डलर रहेको छ । लिभरपुलमा लगानीसँगै बेजोस पहिलोपटक खेलकुद क्लबको स्वामित्वमा प्रवेश गर्दैछन् । यद्यपि उनी लिभरपुलको सञ्चालक समितिमा भने रहने छैनन् । बेजोसले लगानी गरिरहेको लगानी संस्था के५ स्पोर्ट्सका संस्थापक ब्रायन बाउम भने लिभरपुलको एनफिल्डस्थित सञ्चालक समितिमा सहभागी हुनेछन् । त्यस्तै, एडुआर्डो सेभरिनकी पत्नी इलेन पनि सञ्चालक समितिमा रहनेछिन् । के५ स्पोर्ट्समा सबैभन्दा ठूलो लगानीकर्ता बेजोस नै हुन् । यस लगानी सम्झौताले खेलाडी अनुबन्धसम्बन्धी क्लबको योजनामा कुनै असर नपर्ने जनाइएको छ । लगानीसँगै खेलाडी खरिदका लागि छुट्टै वा नयाँ बजेटसमेत नआउने बताइएको छ । सम्झौतामा भविष्यमा १८९२ होल्डिङ्सले लिभरपुलमा आफ्नो लगानी थप गर्न सक्ने व्यवस्था पनि राखिएको छ । यसले भविष्यमा फेनवे स्पोर्ट्स ग्रुपले क्लबको स्वामित्व बिक्री गर्न चाहेमा यही समूह बहुमत हिस्सेदारी खरिद गर्ने बलियो अवस्थामा रहने संकेत गरेको छ । तर फेनवेले भविष्यमा स्वामित्व बिक्री गर्ने विषयमा कुनै प्रतिबद्धता भने नगरेको दाबी गरिएको छ । सम्झौताअनुसार लिभरपुलको कुल मूल्य करिब ७ अर्बदेखि ८ अर्ब डलरसम्म निर्धारण गरिएको बताइएको छ ।

१७- मेटाले इन्स्टाग्रामका लागि नयाँ शब्दचिह्न (wordmark) सार्वजनिक गरेको छ । सामाजिक सञ्जालको नाम मात्र समेटिएको नयाँ शब्दचिह्नमा पुरानो डिजाइनलाई परिमार्जन गर्दै थप सफा र आधुनिक रूप दिइएको हो । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले सामाजिक सञ्जालमार्फत एपको माथिल्लो भागमा देखिने शब्दचिह्न १० वर्षदेखि परिवर्तन नगरिएको भन्दै नयाँ रूप दिनुपर्ने समय आएको बताएका छन् । मोसेरीका अनुसार नयाँ शब्दचिह्न पहिलेभन्दा सफा र आधुनिक छ । यसमा इन्स्टाग्रामको मूल डिजाइनको झल्को कायम राख्दै सरलता र कलात्मकतालाई प्राथमिकता दिइएको छ । मेटाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ डिजाइन तयार गर्ने क्रममा सयौँ नमुना परीक्षण गरिएको थियो। ठूला अक्षरदेखि हातले लेखिएको शैलीसम्मका विभिन्न डिजाइनमाथि छलफल गरेपछि अन्ततः प्रवाहपूर्ण रेखा भएको अक्षर शैली छनोट गरिएको हो । इन्स्टाग्रामकी उत्पादन डिजाइन निर्देशक जैस्मिन प्रोब्स्टका अनुसार नयाँ अक्षर शैलीले व्यक्तिगत पहिचानलाई झल्काउने भएकाले त्यसलाई प्रयोग गर्नु उपयुक्त ठानिएको हो । उनका अनुसार नयाँ शब्दचिह्न पहिलेभन्दा बाक्लो र सरल छ । यसमा केही अनपेक्षित विशेषता पनि राखिएको छ, जसले व्यक्तिगत अभिव्यक्ति र व्यक्तिगत आवाजलाई झल्काउँछ । व्यक्तिगत अभिव्यक्ति इन्स्टाग्रामको सुरुदेखिकै मुख्य विशेषता रहँदै आएको उनले बताएकी छन् । शब्दचिह्नसँगै इन्स्टाग्रामले अन्य अक्षर शैलीमा समेत परिवर्तन गरेको छ । प्रयोगकर्ताले नयाँ इन्स्टाग्राम अक्षर शैलीका साथै हातले लेखेजस्तो देखिने नयाँ अक्षर शैली र इन्स्टाग्रामका लागि तयार गरिएको नयाँ एकल अक्षर शैली पनि प्रयोगमा देख्नेछन् ।

१८- नेपाली पौडी टोलीले आगामी २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलुरुमा गर्ने भएको छ । टोलीले त्यहाँ एक महिनासम्म प्रशिक्षण गर्नेछ । प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भारत जाने भएको छ । टोलीमा जाडेन श्रेष्ठ, अभिषेक प्रधान, इर्भिन श्रेष्ठ, डुवाना लामा र आर्या महर्जन रहेका छन् । टोलीको प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ रहेका छन् । प्रशिक्षणका लागि भारत प्रस्थान गर्न लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

१९- विश्वका चर्चित फुटबल खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्ततः अर्जेन्टिना-स्पेनकी मोडल जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् । ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया जर्जिनाले ११ अगस्टमा निजी समारोहबीच विवाह गरेका हुन् । विवाहपछि यो चर्चित जोडीको आर्थिक व्यवस्थाबारे विभिन्न दाबी सार्वजनिक भएका छन् । मेक्सिकोको डिजिटल जीवनशैली तथा सम्बन्धसम्बन्धी प्रकाशन ‘एन परेजा’ को रिपोर्टअनुसार रोनाल्डो र जर्जिनाले विवाहमा ‘सम्पत्ति अलग राख्ने व्यवस्था’ रोजेका छन् । यस व्यवस्थाअनुसार विवाहअघि र विवाहपछि आर्जन गरिएको सम्पत्ति, आम्दानी तथा लगानी दुवैको व्यक्तिगत सम्पत्तिका रूपमा रहनेछ । भविष्यमा सम्बन्धविच्छेद भएमा दुवैको सम्पत्ति स्वतः बराबर भाग लाग्ने छैन । रिपोर्टअनुसार उक्त व्यवस्थाका कारण रोनाल्डोको फुटबलबाट हुने आम्दानी, विज्ञापन सम्झौता तथा व्यावसायिक लगानी उनकै नियन्त्रणमा रहनेछन् । यसमा साउदी क्लब अल नासरबाट प्राप्त हुने आम्दानी तथा होटल व्यवसायसमेत समावेश रहेको बताइएको छ । त्यसैगरी जर्जिनाको आफ्नै सम्पत्ति र आम्दानीमा पनि उनको व्यक्तिगत अधिकार कायम रहनेछ । पोर्चुगलको पत्रिका ‘टिभी गुइया’ ले विवाह दर्तासँग सम्बन्धित केही सर्तबारे दाबी गरेको छ । रिपोर्टअनुसार सम्बन्धविच्छेद वा अलगावको अवस्था आएमा जर्जिनाले रोनाल्डोबाट मासिक करिब एक लाख युरो पाउन सक्ने व्यवस्था रहेको दाबी गरिएको छ । यद्यपि, यो रकम र उक्त सर्तबारे सार्वजनिक भएका विवरण सम्बन्धित सञ्चारमाध्यमका दाबीमा आधारित छन् । रिपोर्टमा म्याड्रिडको ला फिन्कास्थित रोनाल्डो र जर्जिनाको भव्य घरमा जर्जिनाको पूर्ण स्वामित्व रहने दाबीसमेत गरिएको छ । उक्त घरको अनुमानित मूल्य ५६ लाख अमेरिकी डलर रहेको बताइएको छ । रिपोर्टअनुसार विवाह समारोहमा रोनाल्डो र जर्जिनाका पाँचै जना सन्तान सहभागी थिए । विवाहका आधिकारिक साक्षीका रूपमा रोनाल्डोका पुराना निकट मित्र मिगेल पासाओ र जर्जिनाकी बहिनी इभाना रोड्रिगेजको नाम उल्लेख गरिएको छ । विवाहमा रोनाल्डोको पोर्चुगल राष्ट्रिय टोली वा अल नासरका कुनै सहकर्मी खेलाडी सहभागी भएको खबर भने सार्वजनिक भएको छैन । रोनाल्डो र जर्जिनाले विवाहलाई झैँ यस विषयलाई पनि निजी राखेका छन् ।

२०- भारतले ८०औँ स्वतन्त्रता दिवस मनाएको छ । मुख्य समारोह नयाँदिल्लीस्थित लालकिल्लामा आयोजना गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लामा राष्ट्रिय झण्डा फहराउँदै परेडको सलामी लिएका थिए । उनले लगातार १३औँ पटक लालकिल्लाको प्राचीरबाट देशवासीलाई सम्बोधन गरेका छन् । करिब ७६ मिनेट लामो सम्बोधनमा उनले सरकारका उपलब्धि र आगामी योजनाबारे जानकारी दिएका थिए । सम्बोधनका क्रममा मोदीले महात्मा गान्धी, जवाहरलाल नेहरू, सुभाषचन्द्र बोस, श्यामाप्रसाद मुखर्जी, बिरसा मुण्डा र ज्योतिबा फुलेले देखेको भारत निर्माण गर्ने संकल्प दोहोर्याउन आह्वान गर्दै सपना, संकल्प, क्षमता र सफलतालाई जोड्दै विकसित भारत निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । मोदीले युवालाई जनगणनामा सही विवरण उपलब्ध गराउन आग्रह गर्दै सही विवरणले देशको विकास योजना बनाउन सहयोग पुग्ने उनले बताए । महिलालाई राजनीतिक क्षेत्रमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै महिलाको क्षमता र सहभागितालाई थप बल दिनुपर्नेमा जोड दिए । आधुनिक चुनौती सामना गर्न युवाको सहभागितासहित देशभर नागरिक सुरक्षाको ठूलो सञ्जाल बनाउने घोषणा पनि उनले गरे । सुरक्षाका विषयमा उनले नक्सलवादी हिंसा कमजोर भए पनि हिंसात्मक सोच अझै चुनौतीका रूपमा रहेको बताए । सीमा सुरक्षासँगै तेल प्रशोधन केन्द्र, बैंकिङ क्षेत्रलगायत महत्वपूर्ण संरचनाको सुरक्षामा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । विद्यार्थीका लागि निःशुल्क अनलाइन पढाइको सञ्जाल विस्तार गर्ने र आगामी एक वर्षमा एक करोड युवालाई कृत्रिम बुद्धिमत्तासम्बन्धी सीप दिने योजना पनि उनले सार्वजनिक गरे । शिक्षाको क्षेत्रमा नयाँ शिक्षा नीति लागू भएपछि विश्वविद्यालय र चिकित्सा शिक्षाका अवसर बढेको दाबी गर्दै मोदीले विदेशी विश्वविद्यालयसमेत भारत आउन थालेको बताए । युवालाई देशको विकासको सबैभन्दा ठूलो शक्ति र विकसित भारतको प्रमुख लाभार्थी भन्दै उनले नयाँ व्यवसाय, सीप, खेलकुद र प्रविधिमा युवालाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । मोदीले भारतका बैंक, औषधि उद्योग, लेखा सेवा र अन्य कम्पनीलाई विश्वस्तरीय बनाउनुपर्नेमा जोड दिए । प्रविधि र नयाँ आविष्कारलाई विकासको प्रमुख आधार बनाउँदै भारतलाई विश्वकै नवीनताको केन्द्र बनाउनुपर्ने उनले बताए । सन् २०४७ सम्म विकसित भारत बनाउने लक्ष्यका लागि आगामी वर्षहरूमा विकासको गति अझ तीव्र बनाउनुपर्ने उनको भनाइ थियो । ऊर्जा क्षेत्रमा पाँचवटा आणविक भट्टी सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिँदै मोदीले कच्चा तेलमा विदेशी निर्भरता घटाउन समुद्री क्षेत्रमा तेल तथा ग्यासको खोजी अघि बढाइने बताए । सम्बोधनपछि राष्ट्रिय गीत र राष्ट्रगानसँगै समारोहको औपचारिक समापन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस