• २०८३ साउन ३० गते शनिवार

इन्डोनेसिया भूकम्प अपडेट: मृतकको संख्या ३८ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ३०, काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पमा केही मानिस घाइते भएका छन्।

भूकम्पपछि खोजी तथा उद्धार कार्य सुरु भएसँगै मृतकको सङ्ख्या बढिरहेको अधिकारीहरूले बताएका छन् । भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण विभिन्न क्षेत्रमा भवन तथा संरचनामा क्षति पुगेको छ । इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार भूकम्प स्थानीय समयअनुसार शनिबार बिहान ५ बज्नुअघि फ्लोरेस टापुमा गएको थियो । यसको केन्द्र १५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको केन्द्र जमिनको सतहको नजिक हुँदा त्यसको प्रभाव सामान्यतया बढी विनाशकारी हुने गर्छ ।

भूकम्प गएको क्षेत्रमा ६.१ रेक्टर स्केलको शक्तिशाली परकम्पसहित अन्य धेरै परकम्प महसुस गरिएको छ । परकम्पका कारण थप संरचनामा क्षति पुग्न सक्ने भन्दै उद्धार टोलीले खोजी कार्यलाई तीव्र बनाएका छन् ।

माउमेरे बन्दरगाहबाट सार्वजनिक भएको दृश्यमा अन्तरद्वीपीय पानीजहाज चढ्न प्रतीक्षा गरिरहेका यात्रुमाथि टर्मिनल भवनको कङ्क्रिटको ठूलो भाग खसेको देखिएको छ । पानीजहाजतर्फ जाने बाटो भत्किँदा केही यात्रु समुद्रमा खसेका थिए ।

इन्डोनेसिया भूकम्प र ज्वालामुखी गतिविधिका दृष्टिले जोखिमपूर्ण देश हो । तीन ठूला भूगर्भीय प्लेट एकआपसमा भेटिने क्षेत्रमा रहेको कारण त्यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले उल्लेख गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस