• २०८३ असार १ गते सोमवार

विश्वकपमा आजराती बेल्जियम र इजिप्ट भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १, काठमाडौं ।  जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज राति समुह जी मा रहेका बेल्जियम र इजिप्ट भिड्दैछन् । वाशिंटनको सीटलमा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ ।

बेल्जियमले आफ्नो पहिलो विश्वकप खेलअघि रक्षापङ्क्तिमा चुनौती सामना गर्नुपरेको छ । टोलीका सेन्ट्रल डिफेन्डर जेनो डेबास्ट खुट्टाको चोटका कारण सुरुवाती खेलबाट बाहिरिएका छन् । उनी टोलीसँगै रहे पनि प्रतियोगिताको पछिल्लो चरणसम्म मैदानमा फर्किने सम्भावना कम रहेको बताइएको छ । उनको अनुपस्थितिमा मुख्य प्रशिक्षक रुडी गार्सियाले ब्रान्डन मेखेले र जोएल न्गोयलाई केन्द्रीय रक्षापङ्क्तिमा उतार्ने सम्भावना रहेको छ । डेबास्टबाहेक बेल्जियमका अन्य सबै खेलाडी पूर्ण रूपमा फिट छन् । आक्रमणको नेतृत्व कसलाई दिने भन्ने विषयमा भने प्रशिक्षक गार्सियाले निर्णय लिन बाँकी छ । उनले अनुभवी स्ट्राइकर रोमेलु लुकाकुलाई सुरुवातमै उतार्ने वा चार्ल्स डे केटेलाएरलाई ‘फल्स नाइन’ भूमिकामा खेलाउने भन्नेमा छनोट गर्नुपर्नेछ ।

बेल्जियमले आक्रामक ४–२–३–१ रणनीतिमा खेल्ने अपेक्षा गरिएको छ । टोलीले केभिन डी ब्रुनेको सिर्जनात्मक खेल र जेरेमी डोकुको तीव्र विङ्ग आक्रमणमा भर पर्दै इजिप्टको रक्षापङ्क्ति भत्काउने प्रयास गर्नेछ ।

यता इजिप्ट भने पूर्ण रूपमा फिट टोलीसहित उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छ । कप्तान मोहम्मद सलाह अप्रिल अन्त्यतिर लागेको ह्यामस्ट्रिङ चोटबाट पूर्ण रूपमा निको भइसकेका छन् । उनले ब्राजिलविरुद्धको अभ्यास खेलमा ४५ मिनेट खेलेर आफ्नो फिटनेस पनि प्रमाणित गरिसकेका छन् ।

सलाहले दायाँ विङ्गबाट टोलीको नेतृत्व गर्नेछन् । मुख्य प्रशिक्षक होसाम हसनले दबाब सहँदै तीव्र प्रतिआक्रमणमा जोड दिने रणनीति अपनाउने अपेक्षा गरिएको छ ।

सलाहसँगै उत्कृष्ट लयमा रहेका उमर मार्मुसको उपस्थितिले इजिप्टको अग्रपङ्क्तिलाई थप खतरनाक बनाएको छ । यस्तै मोहम्मद अब्देलमोनेम र यासेर इब्राहिमले रक्षापङ्क्तिको नेतृत्व गर्दै बेल्जियमका आक्रमणकारीलाई रोक्ने प्रयास गर्नेछन् ।

बेल्जियम छनोट चरणमा अपराजित रहँदै विश्वकपमा पुगेको हो । त्यसपछि भएका अभ्यास खेलमा पनि टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । उसले क्रोएसियालाई २–० ले पराजित गर्नुका साथै गत साता ट्युनिसियालाई ५–० ले हराएको थियो ।

इजिप्टले पनि प्रभावशाली छनोट यात्रा तय गर्दै आफ्नो समूहमा शीर्ष स्थान हासिल गरेको थियो । अभ्यास खेलमा उसले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो भने रुसलाई १–० ले हराएको थियो । ब्राजिलसँग २–१ ले पराजित भए पनि टोलीले सशक्त प्रदर्शन गरेको थियो ।

अनुशासित रक्षापङ्क्ति र तीव्र प्रतिआक्रमणका कारण इजिप्टलाई बेल्जियमका लागि सहज प्रतिद्वन्द्वी मानिएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस