• २०८३ असार १ गते सोमवार

स्मार्टफोनको विस्तारसँगै अमेरिकामा जन्मदर घटेको अध्ययनको दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १, काठमाडौं । अमेरिकामा पछिल्ला दुई दशकदेखि निरन्तर घटिरहेको जन्मदरमा स्मार्टफोनको बढ्दो प्रयोगले पनि महत्वपूर्ण भूमिका खेलेको एक नयाँ अध्ययनले देखाएको छ ।

मिडलबरी कलेज र नेशनल ब्युरो अफ इकोनोमिक रिसर्चसँग आबद्ध अनुसन्धानकर्ता केटलिन मायर्स र एजेकियल हुपरद्वारा गरिएको अध्ययनअनुसार सन् २००७ देखि २०११ बीच अमेरिकाको कुल प्रजनन दरमा आएको गिरावटको करिब एकतिहाइदेखि आधासम्म हिस्सा स्मार्टफोनको प्रारम्भिक विस्तारसँग सम्बन्धित हुन सक्ने देखिएको छ । सन् २००७ लाई अध्ययनले महत्वपूर्ण मोडका रूपमा उल्लेख गरेको छ, किनकि यही वर्ष पहिलो आइफोन सार्वजनिक गरिएको थियो ।

अनुसन्धानमा सन् २००७ देखि २०११ सम्म एटी एन्ड टीको मोबाइल ब्रडब्यान्ड सञ्जाल विस्तारको विश्लेषण गरिएको थियो । प्रारम्भिक चरणमा आइफोन यही सञ्जालमार्फत उपलब्ध भएकाले अनुसन्धानकर्ताले नेटवर्क पहुँचलाई स्मार्टफोन पहुँचको सूचक मानेका थिए ।

अध्ययनका अनुसार सुरुआती समयमा ९० प्रतिशतभन्दा बढी जनसंख्याले स्मार्टफोन सञ्जालको पहुँच पाएका क्षेत्रहरूमा जन्मदरको गिरावट, १० प्रतिशतभन्दा कम पहुँच भएका क्षेत्रहरूको तुलनामा उल्लेखनीय रूपमा बढी देखिएको थियो ।

यद्यपि अध्ययनले स्मार्टफोन र जन्मदरबीच प्रत्यक्ष कारण-परिणाम सम्बन्ध स्थापित गरेको छैन । अनुसन्धानकर्ताहरूका अनुसार स्मार्टफोनले मानिसहरूको समय, ध्यान र सामाजिक सम्बन्ध बनाउने तरिकामा ठूलो परिवर्तन ल्याएको छ । प्रत्यक्ष भेटघाट, डेटिङ र सामाजिक गतिविधिको स्थान क्रमशः डिजिटल संवादले लिन थालेपछि व्यक्तिगत सम्बन्ध तथा यौन गतिविधिको आवृत्तिमा समेत प्रभाव परेको हुनसक्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनले इन्टरनेटमा आधारित मनोरञ्जन र अन्य डिजिटल गतिविधिको बढ्दो प्रयोगले युवाहरूको सामाजिक व्यवहारमा परिवर्तन ल्याएको र त्यसका कारण अनियोजित गर्भधारणका घटनासमेत घटेको निष्कर्ष प्रस्तुत गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस