असार १, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियो जीपबाट १०४ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब १: ५५ बजे चतराबाट नडाहातर्फ आउँदै गरेको बीआर ३१ पी ६६५१ नम्बरको भारतीय स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
घटनाको जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर गाडीको जाँच गर्दा भित्र लुकाइछिपाइ राखिएका चारवटा प्लास्टिकका बोराबाट १०४ किलो ८५५ ग्राम गाँजा फेला पारेको हो ।
बरामद गरिएको गाँजा र स्कारपियोलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।