जेठ १, काठमाडौं । कमल किशोर मालपानी समुहले उत्पादन तथा विक्री वितरण गर्दै आएको यशोदा फुडस मार्फत उत्पादित करेन्ट चाउचाउ अखाद्य भएको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परिक्षणका क्रममा यशोधा फुड्स प्रालि द्वारा उत्पादित करेन्ट र लाली चाउचाउ अखाद्य भएकाले तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ मा सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको पुष्टि भएपछि उक्त चाउचाउ बजारमा विक्री वितरण समेत नगर्न निर्देशन दिइएको छ।
यता, ‘करेन्ट’ ब्रान्डलाई लिएर अर्को गम्भीर प्रश्नसमेत उठ्न थालेको छ। नेपालमा खाद्य पदार्थ र सुर्तीजन्य पदार्थको एउटै नाम प्रयोग गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै ‘करेन्ट’ नाममै एकातर्फ चाउचाउ र अर्कोतर्फ गुड्खा उत्पादन तथा बिक्री वितरण भइरहेको छ। यसले उपभोक्तामाझ भ्रम सिर्जना गर्नुका साथै सुर्तीजन्य पदार्थलाई खाद्य सामग्रीसँग जोडेर सामान्यीकरण गर्ने प्रयास भएको भन्दै आलोचना बढेको छ।
विशेषगरी बालबालिका र किशोर लक्षित बजारमा एउटै ब्रान्ड नाम प्रयोग गरेर सुर्तीजन्य पदार्थको अप्रत्यक्ष प्रचारप्रसार भइरहेको भन्दै सरोकारवालाले प्रश्न उठाउन थालेका छन्। खाद्य सामग्रीको आवरणमा सुर्तीजन्य ब्रान्डलाई स्थापित गर्ने यस्तो अभ्यासले सार्वजनिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने विज्ञहरूको चेतावनी छ।
