• २०८३ जेष्ठ १ गते शुक्रवार

चलचित्र ‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेठ १, काठमाडौं । चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । एउटामा नायक र नायिका दुवै अटाएका छन् भने अर्कोमा नायिका मात्रै छिन् ।

पोस्टरले सिनेमा ग्रामीण समाजको कथामा बनेको प्रस्ट पार्ने प्रयास गरेको छ । पहिलो पोस्टरमा नायक अरुण क्षेत्री र सिम्रन खड्का फिचर्ड छन् । उनीहरू दुलाहा–दुलहीको भेषमा छन् । दौरासुरुवाल, कोट, ढाका टोपी र दुबोको माला अथवा बेहुलाको पहिरनमा छन् । उनले बाँधेको पटुकीमा गुलेली सिउरिएका छन् । उनका हातमा औंला केही एबनर्मल देखिएका छन् । उनका हातका औंलाको पोजिसन र पटुकीमा सिउरिएको गुलेलीले उनमा शारीरिक रूपमा केही समस्या रहेको संकेत गर्छ ।

उनको मुहारमा जोस देखिन्छ । यता सँगै बेहुलीको पहिरनमा रहेकी सिम्रनको मुहारमा भने तनाव झल्किएको छ । पृष्ठभूमिमा रहेको घर र उभिएको आगनले उनीहरू कुनै गाउँका स्थानीय हुन् भन्ने प्रष्ट पार्छ । खरले छाएको सानो झुपडीले उनीहरू गरिब परिवारको रहेको संकेत गरेको छ ।

अर्को पोस्टरमा सिम्रन एक्लै छिन्, जसमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टा रहेकी उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छिन् । तर, उनी पढिरहेकी छन् । यसले उनी बिहे गरेपछि पनि घरको काम गर्दै पढ्दै गरेको बुझाउँछन् । पढ्ने तीव्र चाहना हुँदाहुँदै उनको विवाह भएको तर आफ्नो पढ्ने उद्देश्यबाट विचलित नभएको यो पोस्टरले संकेत गर्छ । पर देखिने हिमालले उनको घर उच्च पहाडमा रहेको जनाउँछ । सार्वजनिक दुई पोस्टरले पहाडमा बस्ने एक गरिब परिवारको कथा चलचित्रले देखाउने गरेको छ ।

‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । चलचित्रमा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ । चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ । ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो ।

अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस