• २०८३ भाद्र २२ गते सोमवार

पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार, चार घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २९, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार साउन २९ गते बिहान करिब ११ः३० बजे मनहरी गाउँपालिका–१ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबीच गाडी पार्किङको विषयमा विवाद भएको थियो । विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका हुन् । घाइते हुनेमा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुङ्गा सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवन राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङ रहेका छन् ।

घाइतेमध्ये जीवन गोले र रामबहादुर पाख्रीनको अवस्था मध्यम तथा राइज आले मगर र जीवन तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चारै जनालाई हेटौँडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ । घटनापछि प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाउँदै हेटौँडा–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको थियो ।

यस्तै, घटनामा संलग्न रहेको शंकाका आधारमा भक्तपुर सूर्यविनायक नगरपालिका–२ का ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस